हिमालको चिसोमा पनि गर्मी हुन थाल्यो याक र चौंरीलाई

लाङटाङ क्षेत्रमा चरिरहेको चौँरी। तस्बिर : मनोज सत्याल

छिमे तामाङ जान्ने बुझ्ने भएदेखि नै उनका वरिपरि याक र चौंरी थिए। हुर्किँदै गर्दा रसुवाको लाङटाङ हिमालको काखका फाँटहरूमा बाबुबाजेसँगै याक डुलाउने उनको दैनिकी बन्यो।

अहिले ५२ वर्ष लागेका छिमेको गोठमा एउटा चौंरीसँगै २४ वटा याक छन्। समुद्र सतहदेखि साढे तीन हजार मिटर उचाइमा रहेको लाङटाङ र केन्जिङ उपत्यकामा उनको परिवारको गुजारा यिनै याक र बारीमा लगाइएको आलु र फापरमा निर्भर छ।

पछिल्लो समय भने याक पाल्न छिमेलाई निकै कठिन भइरहेको छ। माइनस ४० डिग्री सेन्टिग्रेडको तापक्रमसम्म बाँच्न सक्ने याकलाई अचेल गर्मीले सताउँछ। गर्मीकै कारण याक मर्न थालेपछि छिमेको परिवार चिन्तित छ।

याकहरू तीनदेखि पाँच हजार मिटर उचाइका पहाडमा चर्न सक्छन्। याक र पहाडी गाईको मिश्रणबाट जन्मिएका चौंरी २५ सयदेखि ३५ सय मिटरसम्मको उचाइमा बाँच्न सक्छन्।

हिमाली क्षेत्रमा बढ्दो तापक्रमको असर विस्तारै याकहरूमा देखिन थालेको हो। तापक्रम वृद्धिबारे छिमे जानकार छैनन्। तर उनलाई आफ्नो याकलाई गर्मीले असर पारिरहेकाबारे खुबै थाहा छ।

‘याकलाई गर्मी लागेपछि रिंगटा लाग्दो रहेछ। बुट्यानको छायाभित्र पसेर ह्याँह्याँ गर्छ। त्यसको एक-दुई घन्टामा मरिहाल्छ,’ छिमेले भने, ‘याकलाई गर्मी लाग्न हुँदै हुँदैन। स्वाँस्वाँ गरेर मेरै चार-पाँच वटा याक मरे।’

चौंरीसँगै छिमे तामाङ। तस्बिर: मनोज सत्याल/सेतोपाटी

२०७२ सालको भुइँचालोअघि धेरै याक गर्मीकै कारण गुमाएको छिमेले बताए।

‘बाल्टिनले खोलाको छेउमा लगेर झ्वामझ्वाम पानी हाल्दा एक-दुइटा बाँच्दो पनि रहेछ,’ छिमेले अनुभव सुनाए।

जल तथा मौसम विज्ञान विभागका अनुसार सन् १९७१ देखि २०१४ को बीचमा नेपालमा प्रतिवर्ष अधिकतम ०.०५६ डिग्री सेल्सियसले तापक्रम वृद्धि भइरहेको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले विश्वव्यापी तापक्रम वृद्धिको तुलनामा उच्च हिमाली क्षेत्रमा ०.०८ डिग्री सेल्सियसभन्दा धेरै तापमान वृद्धि भइहेको जनाएको छ। सन् २०५० सम्ममा विश्वको तापक्रम वृद्धिदर १.५ डिग्रीमा रोक्न सके पनि हिन्दु-कुश क्षेत्रको हिमालमा त्यसको तुलनामा ०.३ डिग्री उच्च तापक्रम वृद्धिदर रहने इसिमोडको रिपोर्टमा उल्लेख छ।

विश्ववव्यापी तापक्रम वृद्धिदरको असर नजानिँदो ढंगले छिमेको परिवारमा पर्न थालिसकेको छ।

याकलाई असारमा धेरै गर्मी हुने भएकाले फागुन-चैतमा रौं काट्नुपर्छ। रौंबाट बख्खु बनाएर छिमेको परिवारले आम्दानी गर्दै आएको छ। तर रौं काटे पनि गर्मीका कारण नाक (पोथी याक) को गर्भाधारणमा समस्या हुन थालेको उनी बताउँछन्।

‘पेटमा बच्चा बस्यो भने पनि गर्मीले गर्दा फ्याल्छ,’ छिमेले भने।

उनको परिवार विस्तारै याक पाल्न छाडेर अन्य काममा लाग्ने तयारीमा छ। २०७२ को भुइँचालोपछि उनले बनाएको नयाँ घरमा गेस्ट हाउस खोलेका छन्। तर ३८ सय मिटर उचाइको केन्जिन र ३४ सय मिटर उचाइको लाङटाङको बीचमा पर्ने उनको गेस्टमा हाउसमा खासै पाहुना छिर्दैनन्।

केन्जिन र लाङटाङमा होटल र गेस्ट हाउस सञ्चालन गर्नेले राम्रै आम्दानी गर्छन्। छिमेको भने त्यहाँको बाटोकै कारण गेस्ट हाउसको व्यापार खासै जमेको छैन।

आम्दानीका लागि अझै पनि उनको परिवार याकको रौंबाट बख्खु बनाउँछ, नाकको दूध बेच्छ।

‘दूध बेच्दा पनि जम्मा सय रुपैयाँ लिटर पर्न जान्छ,’ छिमेले भने, ‘याक पालेर बाँच्न गाह्रो छ। नपालेर पनि के गर्ने? मार्न भएन, काट्न भएन।’

उच्च हिमाली क्षेत्रको जनजीवनमा तापक्रम वृद्धिले पारेको असरबारे सवर्नी तुलाधरसहित चार जनाले इसिमोडका लागि सन् २०२० मा अध्ययन गरेका थिए। उक्त अध्ययनले लाङटाङ क्षेत्रमा पशुपालनमा निर्भर परिवार व्यापक रूपले घट्दै गएको देखाएको छ। त्यस्तै झन्डै ३० प्रतिशत घरपरिवारले याक र चौंरीपालन पेसा छाडेका छन्।

यसको एउटा कारकका रूपमा जलवायु परिवर्तनलाई लिइएको छ।

‘लाङटाङ क्षेत्रमा हिमपात र वर्षाको प्रक्रियामा परिवर्तन भइरहेको छ। बेमौसमी रूपमा हुने हिमपात र हिउँ पर्ने दर कम भएकाले हप्तौंसम्म पशुका लागि खानेकुरा र पानी अभाव हुन्छ। अनि पशुहरूको मृत्यु हुन थालेको छ,’ जलवायु परिवर्तन र पशुपालन सम्बन्धमा गरिएको उक्त अध्ययनमा भनिएको छ, ‘उच्च हिमपातपछिको हिमपहिरो र पहिरोका कारण पनि धेरै जनावरको मृत्यु भएको छ। भूकम्पपछि आएको हिमआँधीका कारण हजारौं जनावरको मृत्यु भयो। बढ्दो तापक्रमले जनावरमा रोग बढेको देखिएको छ।’

लाङटाङ जत्तिकै उचाइमा रहेको मनास्लु, मकालु वरुण र अन्नपूर्ण संरक्षण क्षेत्रका चार जिल्लामा गरिएको अध्ययनअनुसार जलवायु परिवर्तनबाट निम्तिएका अस्वभाविक घटनाहरू (हिम पहिरो, हिम आँधी, पहिरो) का कारण पशुचरणमा आश्रित समुदाय संकटको अवस्थामा पुगेका छन्।

Source :  Vulnerability of Pastoralism: A Case Study from the High Mountains of Nepal

त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र नर्वेको नर्वेजियन युनिभर्सिटी अफ लाइफ साइन्सका अध्येता संलग्न उक्त रिपोर्टअनुसार पशुपालनमा संलग्न मानिसहरूले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भइरहेको बताएका छन्।

उनीहरूले तापक्रम वृद्धिका कारण पशुहरूमा लाग्ने रोग बढेको पनि बताएका छन्।

लाङटाङमा चौंरीपालन गर्दै आएका तेन्जेन लामा गर्मीकै कारण चौंरीलाई बच्चा जन्माउन कठिन भएको बताउँछन्।

उनका अनुसार गर्मी हुँदा चौंरीले बच्चा जन्मिएपछि सालनाल खसाल्न सक्दैन। यही कारण आफ्नो चौंरीको ज्यान उनको भनाइ छ।

‘सात महिनाअघि गर्मीले साल नझरेर मेरो चौंरी मरेको छ,’ तेन्जेनले भने, ‘कतिपयले चौंरीको पिसाबमा रगत देखिएको पनि भनेका छन्।’

चौंरी दुहुँदै तेन्जन लामा। तस्बिरः मनोज सत्याल/सेतोपाटी 

पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालका अनुसार याकजस्ता जनावर जलवायुमा संवेदनशील हुन्छन्। त्यसैले हिमाली क्षेत्रमा तापक्रम वृद्धिका कारण तिनमा असर देखा पर्न थालेको छ।

‘१४ डिग्रीभन्दा बढी तापक्रम भयो भने याकलाई समस्या हुँदो रहेछ,’ ढकालले भने, ‘गर्मी भनेको एक डिग्री पनि धेरै हो। हिउँ पनि शून्य डिग्रीमा जम्छ र एक डिग्रीमा पग्लिन्छ। यी जनावर माइनस ४० डिग्रीसम्म बाँच्ने भए पनि उपयुक्त वातावरण चाहिँ माइनस १४ डिग्रीसम्म हुने रहेछ।’

ढकाल मौसम परिवर्तनले याकमा पारेको असरबारे विस्तृत अध्ययन आवश्यक देख्छन्। पशु सेवा विभागको संरचनामा भने याकजस्ता जनावरको विषय बजेट अभावले खासै प्राथमिकतामा नपरेकाले धेरै अध्ययन गर्न नपाएको पनि उनले बताए।

विभागले याकको प्रजाति सुधारका लागि चीनबाट केही याक ल्याएर काम गरिरहेको छ। तर पर्याप्त  कार्यक्रम भने नरहेको उनी बताउँछन्।

ढकालका  अनुसार तापमान वृद्धिकै कारण माथिल्लो क्षेत्रमा पुगेका याक तल झर्न नसक्ने जस्ता समस्या पनि देखिएको छ।

‘हामीले उच्च हिमाली क्षेत्रका पशुपालकसँग कुराकानी गरेका थियौं। पर्यटकले छाड्ने प्लास्टिक खाएर पनि याक बिरामी पर्ने र मर्ने देखिएको छ,’ उनले भने, ‘भुटान, पाकिस्तानमा समेत यो समस्या देखिएको छ।’

लाङटाङमा चौंरी र याक पालिरहेकाको अनुभवमा मौसममा आउने परिवर्तनले यी जनावरको खानेकुरामा समेत असर पारिरहेको छ।

तेन्जेनका अनुसार समयमा हिउँ नपरेको वर्ष चौंरी चराउन घाँस अभाव हुन्छ।

‘हिउँ कम परेपछि घाँस कम उम्रिन्छ। पुस र माघमा टन्नै हिउँ पर्‍यो भने चैत अन्तिममा मज्जाले घाँस उम्रिन्छ,’ ५१ वर्षीय तेन्जेनले भने, ‘हिउँ नपर्दा घाँसको समस्या नै हुन्छ। पहिला-पहिला चार फिटसम्म हिउँ पर्ने ठाउँमा अचेल एक-डेढ फिट मात्र पर्छ। अनि वैशाखमा वर्षा हुँदा पनि घाँस ढिलो उम्रिन्छ।’

तेन्जेन लेकमा गोठ सार्दै चौंरी चराउँछन्। कहिले लाङटाङ लिरूङको आधार शिविरसम्म पुग्छन् त कहिले लाङसी र यालाखर्कसम्म। चौंरीलाई घाँस खुवाउनै उनी जेठ-असारदेखि कात्तिकसम्म खर्कहरूमा गोठ बनाएर बस्छन्।

गोठमा भएका १७ वटा चौंरी बाँधेर घाँस खुवाउन मुश्किल छ। भूकम्पपछि लाङटाङमा आएको हिमपहिरोले चौंरी चराउने ठाउँ नै पुरिएको तेन्जेनले बताए।

‘लाङटाङमा घाँस खाने ठाउँ पुरियो,’ उनले भने, ‘अहिले चौंरी लिएर लेक जानुपर्ने अवस्था छ।’

२०७२ सालको भूकम्पपछि लाङटाङमा आएको हिमपहिरोले याक र चौंरीको चरन क्षेत्र घटाएको छ। तस्बिरः मनोज सत्याल/सेतोपाटी

पशु सेवा विभागका ढकाल जंगली जनावरबाट याकका बच्चाहरू शिकार समेत भइरहेको बताउँछन्। याक र चौंरी पाल्नेको संख्या घट्दा खर्कहरूमा झाडी पलाउने र त्यसले भएका याकलाई पनि चरन क्षेत्र सानो हुँदै गएको उनले बताए।

पछिल्लो समय युवा पुस्ता कमाइका लागि विदेश जाने र कतिपय पर्यटन पेसामा लाग्ने भएकाले पनि पशुपालनमा जनशक्ति कम भइरहेको उनले उल्लेख गरे।

लाङटाङ क्षेत्रमा पशुपालन गर्नेहरू विस्तारै होटल क्षेत्रमा लागेका छन्। छिमेले जस्तै तेन्जेनले पनि भूकम्पपछि लाङटाङमा गेस्ट हाउस खोलेका छन्। दूधको भाउ नभएकाले चौंरी पालेर खास फाइदा नहुने उनले बताए।

‘जागिर खाऊँ भने पढेको छैन। यी चौंरीको बुढीको जत्तिकै माया लाग्छ,’ तेन्जेनले भने, ‘एक-इ पैसा देखिन्छ कि भनेर पालेको हो। मेरा बच्चाहरूले त पाल्दैनन् होला। उनीहरू पढाइको मान्छे, के चौंरी पालेर बस्थ्यो!’

इसिमोडकी अध्येता सवर्नी पनि लाङटाङ क्षेत्रमा बढ्दो पर्यटनले पशुपालन पेसा छाड्नेको संख्या बढ्दै गएको बताउँछिन्।

‘भूकम्पअघि धेरै पर्यटक आउन थालेपछि पशुपालन छाड्ने क्रम बढेको थियो,’ सुवर्नी भन्छिन्, ‘भूकम्पपछि चरन क्षेत्र पुरियो। पहिलाको चरन क्षेत्रमा पनि घर बनेपछि मान्छेहरूले पशुपालन छाडेका देखिन्छन्।’

होटल सञ्चालन गर्नेहरूले अन्तर्राष्ट्रिय रूपमै सम्बन्ध विस्तार गरेको र युवा बाहिर जाने क्रम बढेकाले पनि पशुपालनमा जनशक्ति अभाव हुँदै गएको उनी बताउँछिन्।

भूकम्पपछिको हिमपहिरोले निम्त्याएको विनाशपछि लाङटाङ र केन्जिन क्षेत्रमा दूधबाट बन्ने चीज उत्पादन समेत कम भएको छ।

चीज कारखानामा २६ वर्षदेखि काम गरिरहेका ग्याल्बो तामाङका अनुसार भूकम्पअघि ४५ सय किलो चीज उत्पादन हुन्थ्यो। अहिले ३५ सय किलो मात्र हुन्छ।

‘हिमपहिरोले चार सय याक र चौंरी मरे। २३ जना पशुपालन गर्ने मान्छेको मृत्यु भयो,’ ग्याल्बोले भने, ‘त्यसपछि दूध उत्पादन घट्यो। अनि चीजको पनि।’

चौंरी पाल्ने किसान फाइदामा नहुने भएकाले पनि पशुपालन गर्ने घट्दै गएको ग्याल्बो बताउँछन्।

ग्लाल्बोले भने, ‘दूध सय रूपैयाँ लिटर छ। केन्जिनको होटलमा कालो चिया एक सय बीस र कफी एक सय पचास पर्छ। अनि मान्छेले होटल खोल्न थालेपछि याक/चौंरी पाल्न छाडेका छन्।’

लाङटाङ क्षेत्रमा तापक्रम वृद्धिदरः

लाङटाङ क्षेत्रमा तापक्रम वृद्धि तीव्ररूपमा भइरहेको अध्ययनहरूले देखाएका छन्। सन्तमान राईसहित सात अध्येताले सन् २०१६ मा गरेको एक अध्ययनमा उक्त क्षेत्रमा ताप्रकम वृद्धिदर बढ्दो क्रममा रहेको उल्लेख छ।

जल तथा मौसम विज्ञान विभागले सन् २००३ देखि सन् २००८ बीचमा मात्र लाङटाङ क्षेत्रमा ०.९ डिग्री सेल्सियससम्मको तापक्रम वृद्धिदर देखिएको उल्लेख गरेको छ। बर्षा र हिमपातको समय तथा शैलीमा आएको परिवर्तनले जीवनशैली र पशुपालनसँग सम्बन्धित विषयलाई जलवायु परिवर्तनले असर पारिरेहको देखिन्छ।

राईसहितका अध्येता टोलीले पनि अध्ययनमा स्थानीयसँगको कुराकानीमा आधारित भएर जलवायु परिवर्तनका कारण याक बिरामी हुने क्रम बढेको र चौंरीको रौं झरेको उल्लेख गरेका छन्।

‘गर्मीका कारण नाकहरू धेरै बिरामी पर्ने र रौं गुमाउने गरेको स्थानीय बताउँछन्,’ उक्त अध्ययनमा भनिएको छ।

सन् २०१८ र २०१९ मा उच्च हिमाली क्षेत्रहरूमा जलवायु परिवर्तनले निम्त्याएका विभिन्न घटनाका कारण धेरै पशुको मृत्यु भएको सरकारी तथ्यांक छ। पशु सेवा विभागले झट्ट हुने मौसमी परिवर्तनले निम्त्याउने हिमपहिरो, आँधीजस्ता घटनामा याक तथा भेडाबाख्रा लगायत पशुको मृत्यु हुने जनाएको छ।

देश संघीयतामा गएपछि भने स्थानीय तहबाट सूचनाको एकीकृत व्यवस्थापन गर्न नसकिएको विभागका सूचना अधिकारी समेत रहेका ढकालले बताए।

स्रोत: पशु सेवा विभाग।

वर्ल्ड वेदर अनलाइनको तथ्यांक अनुसार लाङटाङ क्षेत्रमा न्यूनतम तापक्रम माइनस दस डिग्रीभन्दा तल जान छाडेको छ। सन् २०१२ पछि लाङटाङको न्यूनतम तापक्रम माइनस १० डिग्रीभन्दा धेरै छ।

त्यस्तै नारायणप्रसाद गौतमले हाइड्रो नेपाल जर्नलका लागि सन् २०१४ मा गरेको अध्ययनले पनि लाङटाङ क्षेत्रमा माइनस शून्य डिग्रीभन्दा कम तापक्रम हुने दिन कम हुँदै गएको देखाएको छ। अध्ययनमा सन् १९८८ देखि २००४ को बीचमा यस्तो दिन २२० बाट घटेर एक सय ५० भन्दा कम भएको उल्लेख छ।

वन तथा वातावरण मन्त्रालयलको जलवायु संकटा सन्नता तथा जोखिम विश्लेषण र अनुकूलनको उपाय सम्बन्धी प्रतिवेदनमा नेपालमा जलवायु परिवर्तनले कृषि, पशुपालन र खाद्य सुरक्षा क्षेत्रमा ४५ जिल्ला संकटमा रहेको उल्लेख छ।

यसमध्ये ११ जिल्लाहरू अति उच्च जोखिममा, १२ जिल्ला उच्च जोखिममा र २३ जिल्ला मध्य संकटमा छन्।

By मनोज सत्याल

पत्रकार

Leave a comment

Your email address will not be published.