यसवर्षको हिउँदमा किन भएन जाडो?

यस वर्ष हिउँदमा तपाईंले कत्तिको जाडो महसुस गर्नुभयो? वा भनौं, कत्तिको न्यानो महसुस गर्नुभयो?

जवाफ प्रस्ट छ, यसपालि खासै जाडो भएन।

जाडोमा घाम प्यारो हुन्छ, तर यसपालि दिनैभरि घाम तापेर बस्ने गरी जाडो भएको बढीमा दुई साता मात्र हो। हामीले मध्य माघदेखि नै घामले पोल्न थालेको महसुस गरेका थियौं।

यो वर्ष जाडो किन कम भयो त? यो स्टोरीमा हामी यही प्रश्नको जवाफ खोज्नेछौं।

तापक्रम मापन दुई तरिकाबाट हुन्छ — न्यूनतम र अधिकतम तापक्रम। न्यूनतम तापक्रमले जाडो अवस्था बुझाउँछ भने अधिकतमले गर्मी वा न्यानो अवस्था बताउँछ।

पहिला न्यूनतम तापक्रमको कुरा गरौं।

जल तथा मौसम विज्ञान विभागले डिसेम्बर, जनवरी र फ्रेब्रुअरीलाई जाडो यामका रूपमा लिन्छ। यो भनेको मंसिर दोस्रो सातादेखि फागुन दोस्रो साता हो। यस आधारमा जाडो सकिन दुई साताभन्दा कम समय बाँकी छ।

विभागका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार यसपालि डिसेम्बर १ देखि फेब्रुअरी १६ सम्मको तथ्यांक हेर्ने हो भने न्यूनतम तापक्रम औसत ६.९४ डिग्री सेल्सियस छ। यो अघिल्लो वर्षको तुलनामा थोरै बढी हो। अघिल्लो वर्ष ६.९१ थियो।

सुदर्शन हुमागाईं। तस्बिर : मनोज सत्याल 

अघिल्लो वर्षभन्दा बढे पनि सरदर तापक्रमभन्दा फरक नपरेको हुमागाईं बताउँछन्।

सरदर तापक्रम भन्नाले कुनै पनि ठाउँमा लामो समयदेखि देखिएको तापक्रम भन्ने बुझिन्छ।सगरमाथा क्षेत्रदेखि नेपालगन्जसम्मको तापक्रमका आधारमा सरदर मापन गरिन्छ। नेपालमा पछिल्लो ३० वर्षको मौसम तथ्यांक हेर्दा हिउँदमा न्यूनतम तापक्रम ६.८ देखि ७.५ डिग्री रहने गरेको छ।

अब कुरा गरौं अधिकतम तापक्रमको।

मौसम विभागले १९.८ देखि २०.९ डिग्री सेल्सियसलाई जाडो यामको सरदर अधिकतम तापक्रमका रूपमा गणना गर्छ। यसपटक हिउँदमा २०.६ डिग्रीसम्म पुगेको विभागको रेकर्डमा छ। यो अघिल्लो वर्षभन्दा करिब २ डिग्री बढी हो। अघिल्लो वर्ष १८.९ थियो।

‘अधिकतम तापक्रम दिउँसो मापन गरिन्छ। त्यो जति बढी भयो, उति न्यानो हुन्छ,’ मौसमविद् हुमागाईंले भने, ‘पोहोरभन्दा यसपालि दिउँसोको तापक्रम बढी छ, त्यसैले हामीले बढी न्यानो महसुस गर्‍यौं।’

अब प्रश्न उठ्छ, यस्तो कसरी भयो त?

यसका तीन कारण छन् —

पहिलो, नेपालको हिउँदे मौसमलाई प्रशान्त महासागरको समुद्री तापक्रमले प्रभाव पार्ने मौसमविद्हरू बताउँछन्।

यसपालि प्रशान्त महासागरको तापक्रम बढी चिसो छ। यो अवस्थालाई वैज्ञानिक भाषामा ‘लानिना’ भनिन्छ। यसले नेपालमा बहने पश्चिमी वायुको प्रभाव कम हुन्छ। पश्चिमी वायुको प्रभाव कम हुनेबित्तिकै यहाँ चिसो कम हुन्छ र हिउँदे वर्षा पनि कमै हुन्छ।

नेपालमा हिउँदे वर्षा गराउने पश्चिमी वायु मेडिटेरेनियन सागरबाट बहन्छ। त्यो भनेको दक्षिणी युरोप वा अफ्रिकाका उत्तरी भूभागहरूमा भएका पानीका स्रोतबाट बग्ने हावा हो। त्यो हावाले पानीका कण बोकेर ल्याउँछ। यसपालि भने पश्चिमी वायुले नेपालको थोरै स्थानमा मात्र पानी पारेको हुमागाईं बताउँछन्।

‘सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उत्तरी भूभागमा सरदरभन्दा कम पानी पर्‍यो। गण्डकी प्रदेशदेखि पूर्वी नेपालमा त पानी परेकै छैन। यसले पनि हिउँदमा तापक्रम जति घट्नुपर्थ्यो, त्यति घट्न पाएन,’ उनले भने, ‘जाडो कम हुनुको एउटा मुख्य कारण हिउँदमा पानी नपर्नु पनि हो।’

वायुमण्डलमा बादलको अवस्था। यो तस्बिर हामीले विनोद पोखरेलको ट्विटरबाट लिएका हौं।

त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह-प्राध्यापक विनोद पोखरेल पनि प्रशान्त महासागरको समुद्री सतहको तापक्रम चिसो हुनाले नेपालको हिउँद न्यानो भएको बताउँछन्।

‘प्रशान्त महासागरको सतह चाहिनेभन्दा बढ्ता चिसो हुँदा हिन्द महासागरमा बढी गतिविधि उत्पन्न हुन्छ।यसले नेपालमा हुने हिउँदे वर्षा प्रभावित गराउँछ,’ पोखरेलले भने, ‘यसपटक त्यस्तै भयो। हामीकहाँ हिउँदे वर्षा एकदमै कम भयो। त्यसले जाडो पनि कम भयो।’

उनका अनुसार यही अवस्था मनसुनमा भइदिएको भए धेरै वर्षा हुने थियो। नेपालमा मनसुनी वर्षा गराउने हिन्द महासागरबाट आउने बाफ र बादलले हो। हिउँदमा पानी पर्न भने त्यस्तो बाफ र बादल मेडिटेरेनियन सागरबाट आउनुपर्छ।

पछिल्लो समय मेडिटेरेनियन सागरबाट जति पश्चिमी वायु बहनुपर्ने हो, त्यति बहन छाडेको पनि केही अध्ययनले देखाएका छन्। उक्त क्षेत्र सुख्खा हुँदै गएकाले यस्तो परिस्थिति उत्पन्न भएको हुनसक्ने पोखरेलको भनाइ छ।

दोस्रो कारण, यसपालि काठमाडौं लगायत देशका कयौं पहाडी क्षेत्रमा विगतका वर्षजस्तो हुस्सुको प्रभाव कम छ।

हुस्सु उत्पन्न हुन हावामा आर्द्रता हुनुपर्छ। पानी नपरेको अवस्थामा जमिन सुख्खा हुने हुँदा हावामा पर्याप्त आर्द्रता हुँदैन। यसले पनि पहिलेको तुलनामा चिसो कम भएको पोखरेल बताउँछन्।

उनका अनुसार तराईको हावालाई भने बिहार र उत्तरप्रदेशको सिँचाइ व्यवस्थाले फाइदा पुर्‍याएको छ। त्यहाँ हावामा आर्द्रता भएकाले हुस्सु लागेको छ।

तेस्रो कारण हो, यस वर्ष हिमाली भेगमा हिउँ कम पर्नु।

पहाडी भूभागमा जाडोको एउटा मुख्य कारण हिमाल हुँदै बहने सिरेटो हो। हिमालमा जति बढी हिउँ पर्‍यो, सिरोटो उति चिसो हुन्छ र जाडो पनि धेरै हुन्छ।

‘हिमालमा हिउँ पर्ने पनि पश्चिमी वायुको प्रभावले हो,’ काठमाडौं विश्वविद्यालयका प्राध्यापक रिजनभक्त कायस्थले भने, ‘पश्चिमी वायुको प्रभावले पहाडमा पानी पर्दा हिमालमा हिउँ पर्छ। यसपालि हिउँदे वर्षा गराउने क्षमताको पश्चिमी वायु नै नआएपछि हिमालमा पर्याप्त हिउँ पर्न सकेन। त्यो कारणले चिसो कम भयो।’

हिमालमा हिउँ परेपछि पहाडी क्षेत्रमा चिसो सिरेटो चल्ने र त्यसले जाडो महसुस गराउने उनको भनाइ छ।

‘पाँच हजार मिटर माथिका हिमालमा बढी हिमपात भयो भने त्यहाँबाट चिसो हावा बहन्छ। त्यसले हामीलाई जाडो महसुस गराउँछ। यसपालि त्यस्तो भएन,’ उनले भने।

यी त जाडो कम हुनुका कारण भए। के यस्तो अवस्था पहिलोचोटि आएको हो त?

काठमाडौं विश्वविद्यालयका प्राध्यापक कायस्थ विगतमा पनि हिउँदे वर्षा नभएका कयौं उदाहरण रहेको बताउँछन्। सन् २००९ मा छ महिनाभन्दा बढी समय काठमाडौं उपत्यकामा पानी परेको थिएन। सरदर तीनदेखि चार वर्षको अन्तरालमा यस्तो खडेरी पर्ने अवस्था देखिएको छ।

जल तथा मौसम विज्ञान विभागले सन् १९७१ देखि २०१४ सम्मको तथ्यांक विश्लेषण गरेर सन् २०१७ मा नेपालको अधिकतम तापक्रमको वार्षिक वृद्धिदर ०.०५६ डिग्री रहेको जनाएको छ। यसले पनि मौसम तुलनात्मक न्यानो हुँदै गएको देखाउँछ।

इसिमोडका अनुसन्धानकर्ता अरूणभक्त श्रेष्ठ हिमाली क्षेत्रमा जति माथि गयो, तापक्रम वृद्धिदर उति धेरै रहेको बताउँछन्।

श्रेष्ठसमेत सहभागी इसिमोडको अध्ययनअनुसार पछिल्लो पाँच दशकमा कुनै बेला तापक्रम वृद्धि हुने त कुनै बेला धेरै चिसो हुने क्रम पाइएको छ। यसमध्ये तातो हुने क्रम नै बढ्दो रहेको अध्ययनले देखाउँछ। सन् २०१९ मा गरिएको उक्त अध्ययनले भन्छ, ‘हरेक दस वर्षमा एउटा चिसो रात घटेको छ। त्यस्तै चिसो दिनमा पनि आधा समय चिसोपना कम भएको छ। अनि गर्मीका दुई रात र एक दिन बढेको पाइएको छ।’

यसको अर्थ हो, पछिल्ला दस वर्षमा गर्मी बढ्दै गएको छ। यस्तो दर अझ बढ्दै जाने देखिन्छ। यो पनि जाडो कम हुनुको एउटा कारण हुन सक्छ।

By मनोज सत्याल

पत्रकार

Leave a comment

Your email address will not be published.