तापक्रम वृद्धिले पग्लदैँछ सगरमाथा

सगरमाथा आधार शिविर क्षेत्रमा देखिएको ताल। तस्बिर : श्री गुरुङ
  • मनोज सत्याल

हिमाल आरोही मिङ्मा डेभिड शेर्पा सगरमाथा चढ्न थालेको १३ वर्ष भयो। पछिल्ला वर्षहरूमा हिमाली क्षेत्रमा भइरहेको जलवायु परिवर्तनका उनी साक्षी हुन्।

‘हिमालमा जुन बेला हिउँ पर्नुपर्ने हो, आजकाल त्यो बेला पर्न छाडेको छ,’ शेर्पाले भने, ‘सगरमाथाको आधार शिविरमै पानी बगिराखेको देख्न सकिन्छ।’

शेर्पा पहिलोपटक सन् २००८ मा खुम्बु आइसफल पुगेका थिए। खुम्बु सगरमाथाको फेदी हो। हिमाल चढ्न थालेयता मिङ्मा १५ पटक सगरमाथाको आधार शिविर पुगिसकेका छन्। उक्त क्षेत्रमा अचेल हिउँ कम पर्ने मात्र होइन, हिउँ पग्लिएर ढुंगा पनि देखिन थालेको उनी बताउँछन्।

‘प्रत्येक पटक हिमाल पुग्दा हिउँ अलि धेरै पग्लिँदै गएको देखिन्छ,’ सानो उमेरमै ८ हजार उचाइमाथिका १४ वटा हिमाल चढ्ने कीर्तिमान बनाएका आरोही शेर्पाले भने, ‘जमेको बरफ घट्दै गएको छ। प्रत्येक वर्ष हिउँले ढाकेका ठाउँ घटेर धेरै ढुंगा देखिन थालेको छ।’

त्यस्तै खुम्बु क्षेत्रमा हिउँ/बरफका ढिक्काहरू पग्लिएर तालको रूप लिन थालेका छन्। बेलायतको लिड्स विश्वविद्यालय र अमेरिकाको एरिजोना विश्वविद्यालयका शोधकर्ताहरूले सन् १९८४ देखि सन् २०१५ सम्मको अध्ययनपछि उक्त क्षेत्रमा ३ सय ८३ प्रतिशतले यस्ता पोखरी बढेको उल्लेख गरेका छन्।

अध्ययनका अनुसार खुम्बुमा तीन दशकअघि पोखरीको क्षेत्रफल २८ हजार ७ सय ५५ वर्गमिटर थियो। सन् २०१५ सम्म आइपुग्दा बढेर एक लाख ३९ हजार १५ वर्गमिटरमा फैलिएको छ।

अध्ययनमा भनिएको छ- विगतमा खुम्बु ग्लेसियर पार गर्न सो क्षेत्रमा पाँचवटा बाटा थिए। अहिले तीन वटा मात्र छन्। निकट भविष्यमा ती पनि बिलाएर जाने अवस्था छ। कोङ्मा ला पास पार गर्न असम्भव हुँदै जाने अवस्था छ।

खुम्बु क्षेत्रमा मात्रै १९ करोड ७६ लाख मिटर क्युब हिउँ पग्लिएको अध्येताहरूले उल्लेख गरेका छन्। पातलो तहको हिउँ पग्लिएसँगै सगरमाथा आधार शिविरको हिउँको तह ३० मिटर माथि सरेको छ।

खुम्बु ग्लेसियर पार सन् १९८४ मा पाँचवटा बाटा थिए। सन् २०१७ मा आइपुग्दा तीन वटा मात्र छन्। निकट भविष्यमा कोङ्मा ला पास पार गर्न असम्भव हुँदै जाने अवस्था छ।

जलवायु परिवर्तनसँगै यो क्षेत्रमा दुर्घटना जोखिम पनि बढेको छ। सन् २०१९ मा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक सुदीप ठकुरी, राजु चौहान र प्रेसिका बाँस्कोटाले गरेको अध्ययनअनुसार जलवायु परिवर्तनका कारण यो क्षेत्र जोखिमयुक्त देखिएको छ।

उक्त अध्ययनले भनेको छ- नेपालका हिमालमा सन् १९२० यता ६० पटक हिमपहिरो आएको छ। त्यसमा ३७० जनाले ज्यान गुमाएका छन्। हिमपहिरो र मृत्युको दर सबभन्दा उच्च खुम्बु क्षेत्रमा देखिएको छ।

अहिले मध्यपश्चिम विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन रहेका सुदीप ठकुरीका अनुसार खुम्बु क्षेत्रमा ग्लेसियर ताल बन्ने क्रम बढ्दो छ। सगरमाथा र खुम्बु क्षेत्रमा पछिल्लो ६० वर्षमा १३ प्रतिशतले ग्लेसियर घटेको छ। सन् २०१२ मा खुम्बुसहित सगरमाथा राष्ट्रिय निकुञ्जको १२ सय वर्ग किलोमिटरभित्र ६ सय २४ वटा साना ताल/पोखरी भेटिएका थिए।

‘त्यहाँ हिमरेखा १ सय ८० मिटरले माथि गएको छ,’ ग्लेसियरमै विद्यावारिधि गरेका ठकुरीले भने, ‘सन् २००० यता उच्चस्तरमा तापक्रम वृद्धि भएको छ र हिउँ कम पर्न थालेको देखिन्छ।’

ठकुरीका अनुसार हिमाली क्षेत्रमा तापक्रम वृद्धिले वर्षौंदेखि थुप्रिएर बसेको हिउँ घट्दै गएको छ। सन् १९५० देखि २०२० सम्मको तथ्यांक हेर्दा हिउँको क्षेत्रफल १५ देखि १६ प्रतिशत घटेको छ। सन् १९७६ देखि २०१५ सम्मको तथ्यांकका आधारमा रहेर ठकुरीहरूले त्यहाँको तापक्रम विश्लेषण गरेका थिए। यसबाट प्रतिवर्ष ०.०४४ डिग्री सेल्सियस तापक्रम बढ्दै गएको पत्ता लागेको ठकुरी बताउँछन्।

उनले सन् २०१६ मा खुम्बु क्षेत्रमा रहेको पिरामिड ल्याबरोटरीले चलाएको स्टेसनको तथ्यांक पनि विश्लेषण गरेका थिए।

‘अध्ययनले उच्च हिमाली क्षेत्रमा हिउँ पर्ने दर घटेको र हिमपहिरो बढेको देखाएको छ,’ उनले भने।

हिमाली क्षेत्रमा बरफले ढुंगाहरूलाई बाँधेर अड्काएको हुन्छ। तापक्रम वृद्धिका कारणले चट्टानहरू झर्न थाल्छन्। यसकै कारण हिमाल आरोहण गर्न गएका मानिसको मृत्युदर समेत बढेको उनको भनाइ छ।

‘तापक्रम वृद्धिसँगै वर्षौंदेखि जमेको हिउँ पग्लिँदा आरोहण प्रभावित हुन सक्छ। माथिबाट हिमपहिरो झर्न थालेपछि सगरमाथा चढ्न झन गाह्रो भइराखेको छ,’ ठकुरीले भने।

नेपालले राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी निकायलाई पछिल्लोपटक पठाएको ‘तेस्रो राष्ट्रिय सञ्चार’ मा जलवायु परिवर्तनले यहाँको हिमाल आरोहण जोखिममा रहेको उल्लेख गरेको छ।

उक्त रिपोर्टमा भनिएको छ- सन् २०१६ मा ८ हजार १ सय ७६ आरोहीलाई पर्यटन मन्त्रालयले अनुमति दियो। तर हिमालमा ज्यादै छिटो जलवायु परिवर्तन हुँदा पछिल्लो दशक जोखिम बढेको छ। अध्ययनहरूले तापक्रम वृद्धिका कारण हिमपहिरोको दर बढाएको देखाएको छ। यसले आरोही र पदयात्री संख्या घटाउने देखिन्छ।

रिपोर्टमा हिमाली क्षेत्रमा १ डिग्री सेल्सियस तापक्रम वृद्धि हुने अवस्था आए ५ हजार मिटरको उचाइसम्म हिउँ नै नरहन सक्ने उल्लेख गरिएको छ।

‘यसबाट हिमालले आफ्नो सुन्दरता गुमाउँछ र नेपालको पर्यटन क्षेत्रमा नकरात्मक असर पर्नेछ,’ रिपोर्टमा भनिएको छ।

नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङका अनुसार हिमाल आरोहण र पदयात्रामा सहयोगीका रूपमा अहिले झन्डै ७५ हजार नेपालीले काम गरिरहेका छन्। जलवायु परिवर्तनले सबभन्दा पहिला उनीहरूको रोजीरोटीमा असर पार्नेछ। पर्यटकको कमीले हिमाल आरोहणमै भर परेका होटल-रेस्टुरेन्ट व्यवसायदेखि अन्य कृषि उत्पादनको पनि बजार घट्न सक्ने गुरुङ बताउँछन्।

‘सगरमाथामा हरेक सिजनमा सबभन्दा पहिला रोप फिक्सिङ गर्ने टोली र भर्‍याङ फिट गर्ने आइसफल डाक्टरहरू पुग्छन्,’ गुरुङले भने, ‘ग्लेसियर पग्लिएका कारण ती टोलीले हरेक वर्ष रूटमा थोरै-थोरै परिवर्तन गरिरहेका छन्। सगरमाथाको माथिल्लो उचाइमा तापक्रम माइनस ६० डिग्रीसम्म हुन्छ। त्यस्तोमा थोरै परिवर्तन हुनु भनेको पनि जोखिम हो।’

काठमाडौं विश्वविद्यालयका प्राध्यापक रिजनभक्त कायस्थका अनुसार जापानको नागोया विश्वविद्यालयका प्राध्यापक केइजी हिगुचीले सन् १९६३ मै नेपालको ग्लेसियरबारे अध्ययन गरेर हिमनदी सानो हुँदै गएको पत्ता लगाएका थिए।

‘सन् १९७३ देखि जापानी वैज्ञानिकले नेपालको ग्लेसियरबारे व्यवस्थित अध्ययन गरेका छन्,’ कायस्थले भने।

सन् १९९४ मा ती प्राध्यापकद्वारा प्रकाशित रिपोर्टमा नेपालको ग्लेसियर बीस वर्ष अवधिमा दुई सय मिटर माथि सरेको उल्लेख गरेका थिए।

कायस्थका अनुसार पछिल्लो अध्ययनले कोशी, नारायणी र गण्डकी करिडोरमा सन् १९७७ देखि २०१० सम्ममा हिमाली क्षेत्रमा २४ प्रतिशतले ग्लेसियर कम भएको देखाएको छ। त्यस्तै ग्लेसियरको आयतन २९ प्रतिशतले कम भएको देखिन्छ।’

तापक्रम वृद्धिदरः

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) मा हिमाल ग्लेसियर अध्ययनमा संलग्न अरुणभक्त श्रेष्ठ नेपालको हिमाल क्षेत्रको हिउँ पग्लने क्रमलाई बैंकको खातासँग तुलना गर्छन्।

‘वर्षौंदेखि थुप्रिएको हिउँ बैंक खातामा जम्मा भएको रकम जस्तो हो,’ श्रेष्ठले भने, ‘अब त्यो खाताबाट निकाल्ने क्रम बढ्दै गयो र थपिने दर कम हुँदै गयो एकदिन खाता रित्तो हुन्छ।’

हिउँ पग्लिने दर बढेकाले हिमनदीमा पानी कम हुँदै जाने अवस्था उत्पन्न हुन सक्ने श्रेष्ठको भनाइ छ।

‘माथि माथिसम्म हिउँ पग्लिने मात्रा बढेको छ। परेको हिउँ पनि जम्न छाडेको छ। त्यसले गर्दा हिमनदी सानो हुँदै जान्छ,’ उनले भने।

इसिमोडले सन् २०२० मा नेपालसहित चीन, भारत, म्यानमार, अफगानिस्तान, पाकिस्तान, भुटान (हिन्दु-कुश क्षेत्र) का ग्लेसियरको अध्ययन गरेर रिपोर्ट प्रकाशन गरेको थियो। अध्ययनले ४७ वटा खतरनाक हिमतालमध्ये नेपालमा २१ वटा हिमताल फुट्नेसक्ने जोखिम औंल्याइएको छ।

श्रेष्ठसमेत सहभागी उक्त अध्ययनले हिउँ पग्लिएर बनेको इम्जा र च्छो रोल्पालाई सबभन्दा जोखिमपूर्ण भनेको छ। दुवै ताल फुट्न सक्ने जोखिम मध्यनजर गर्दै निश्चित ठाउँबाट पानी बगाउन सुरू गरिए पनि ताल बढ्ने क्रम जारी रहेको अध्ययनले देखाएका छन्।

सन् २०१४ मा इसिमोडका समज्वलरत्न बज्राचार्यले गरेको अध्ययनले इम्जा क्षेत्रमा सन् १९८८ देखि सन् २००८ सम्ममा १ डिग्री सेल्सियसले तापक्रम वृद्धि भएको देखाएको थियो। लगत्तै सन् २०१६ मा इम्जा तालबाट ३.४ मिटर ताल पानीको सतह घटाइएको थियो।

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सरकारी समूह (आइपिसिसी) ले यसै वर्ष सार्वजनिक गरेको तथ्यांकअनुसार पृथ्वीको तापक्रम सन् २०११ देखि सन् २०२० सम्ममा १.०९ डिग्री बढेको छ। वैज्ञानिकहरू अहिलेको तापक्रम वृद्धिदरलाई १.५ डिग्रीमा रोक्नुपर्ने बताइरहेका छन्। सन् २०१५ मा पेरिसमा भएको जलवायु सम्मेलनपछि सबै मुलुकले सन् २१०० भित्र पृथ्वीको तापक्रम २ डिग्रीभन्दा कम राख्ने प्रतिaद्धता व्यक्त गरेका छन्। तर आइपिसीले भने १.५ डिग्रीको तापक्रम वृद्धिदर आउँदो सन् २०४० मै पुग्ने जनाएको छ।

इसिमोडको अध्ययनले भने पृथ्वीकोभन्दा नेपालको हिमाल क्षेत्रको तापक्रम वृद्धिदर धेरै हुने प्रक्षेपण गरेको छ।

इसिमोडको रिपोर्टमा उल्लेख छ- विश्वको तापक्रम वृद्धिदर १.५ डिग्रीमा रोक्न सके पनि हिन्दु-कुश क्षेत्रको हिमालमा त्यसको तुलनामा ०.३ डिग्री उच्च तापक्रम रहनेछ। पाकिस्तानको काराकोरम क्षेत्रमा यस्तो तापक्रम वृद्धिदर पृथ्वीकोभन्दा ०.७ डिग्री उच्च हुनेछ। नेपालको जल तथा मौसम विज्ञान विभागले सन् १९७१ देखि २०१४ सम्मको तथ्यांक विश्लेषण गरेर सन् २०१७ मा नेपालको प्रतिवर्ष अधिकतम् तापक्रमको वृद्धिदर ०.०५६ डिग्री रहेको जनाएको छ।

नेपालको प्रतिवर्ष अधिकतम् तापक्रमको वृद्धिदर ०.०५६ डिग्री पुगेको छ ।

इसिमोडका अनुसन्धानकर्ता श्रेष्ठ हिमाली क्षेत्रमा जति माथि गयो, तापक्रम वृद्धिदर उति धेरै रहेको बताउँछन्, ‘हिमालमा तातो छ भनेको होइन। तर उचाइमा आधारित तापक्रम वृद्धिदर धेरै देखिएको छ। जोखिम पनि त्यसैअनुसार बढेको छ।’

श्रेष्ठसमेत सहभागी इसिमोडको अध्ययनअनुसार पछिल्लो पाँच दशकमा कुनै बेला उच्च तापक्रम वृद्धि हुने त कुनैबेला उच्च चिसो हुने क्रम देखिएको छ। चिसोका तुलनामा उच्च तातो हुने क्रम बढ्दो दरमा रहेको उल्लेख छ।

सन् २०१९ मा गरिएको अध्ययनको रिपोर्टको निष्कर्षमा भनिएको छ- हरेक दस वर्षमा एउटा चिसो रात घटेको छ। त्यस्तै चिसो दिनको आधा दिन चिसोपन कम भएको छ। अनि गर्मीका दुई रात र एक दिन बढेको पाइएको छ।

यसको अर्थ हो, पछिल्ला दस वर्षमा गर्मी बढ्दै गएको छ र अध्ययनले यस्तो दर बढ्दै जाने देखाएको छ।

तापक्रम वृद्धि र ग्लेसियर पग्लिँदा बढ्दो जोखिमः

काठमाडौं विश्वविद्यालयका प्राध्यापक कायस्थका अनुसार हिउँ पग्लिँदा सबभन्दा जोखिम हिमालनजिक बस्ने र हिमालसँग जोडिएकालाई पर्छ। माथिल्लो क्षेत्रमा खानेपानीको स्रोत हिउँ पग्लिएर आउने नदी हो। हिउँ कम पर्ने र पानी पनि नपाउने भएपछि मुस्ताङको धे भन्ने गाउँको बस्ती नै सरेको उनले जानकारी दिए।

हिउँ पर्दा जमेको बरफ एक-दुई महिनामै पग्लिन थालेपछि पानी अभाव भएको र बस्ती नै सर्नु परेको थियो।

ग्लेसियरहरू छिट्टै पग्लिएर सकिन थालेको अवस्थामा भविष्यमा जलविद्युत र सिँचाइ आयोजनामा पनि पानी अभाव हुन सक्ने कायस्थ बताउँछन्।

‘चैत-वैशाखमा हिउँ पग्लिएर नदीमा पानी आउँछ,’ कायस्थले भने, ‘बरफ र हिउँ कम हुँदै गएपछि पानी कम हुन्छ। जलविद्युत आयोजनाको उत्पादनमा असर पर्छ।’

इसिमोडका अनुसन्धानकर्ता श्रेष्ठ हिउँ पग्लिएर माथिल्लो तटमा बन्ने तालले तल्लो तटमा जोखिम निम्त्याउने बताउँछन्।

‘जोखिममा रहेका च्छो रोल्पा, लोअर वरूण लगायत हिमताल फुटेको अवस्थामा तत्लो क्षेत्रमा भेल-बाढी आउन सक्छ,’ श्रेष्ठ भन्छन्।

सन् २०१६ मा चीनको तिब्बतमा रहेको हिमपाल बिस्फोट हुँदा सिन्धुपाल्चोकको भोटेकोसीमा बाढी आएको थियो। बाढीले भोटेकोशी जलविद्युत आयोजनासँगै २५ घर र नेपाल-चीन जोड्ने सडकको खण्ड बगाएको थियो।

‘भोटेकोशीमा पटक-पटक हिमताल फुटेर बाढी आएको छ,’ श्रेष्ठले भने, ‘ग्लेसियर अध्ययन गरेर हामीले बसिराखेको ठाउँबारे अध्ययन गर्नुपर्छ। बाध्यता वा प्रलोभनले गर्दा नदी किनारामा बसेका जोखिममा छन्।’

तापक्रम वृद्धिसँगै हिमाली क्षेत्रमा बढेको जोखिमलाई नेपालले यसपटक अन्तर्राष्ट्रियकरण गर्ने तयारी गरेको छ। स्कटल्यान्डको ग्लासगोमा अक्टोबर र नोभेम्बरमा हुने जलवायु सम्मेलन(कोप-२६) मा नेपालले विश्वव्यापी तापक्रम वृद्धिसँगै बढ्दो जोखिमबारे स्पष्ट ढंगले कुरा उठाउने तयारी गरिरहेको छ।

नेपालको वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख राधा वाग्लेका अनुसार यसपटक अन्तर सरकारी समूहको रिपोर्ट सार्वजनिक भएसँगै तापक्रम वृद्धिबारे सुरू भएको विश्वव्यापी बहसमा नेपालले ग्लेसियरको बढ्दो पग्लने क्रमबारे विषय उठाउन लागेको हो।

‘अहिलेको विश्वको चासो पृथ्वीको तापक्रम वृद्धिदर १.५ डिग्री भन्दा तल कसरी राख्ने भन्ने छ,’ वाग्लेले भनिन्, ‘हामीले त्यही एजेन्डामा हिमालको तापक्रम वृद्धि र हिउँ पग्लिएको विषय उठाएर एजेन्डालाई सहयोग गर्न खोजेका हौं।’

आइपिसिसीको रिपोर्टले ग्लेयिसर पग्लने क्रमलाई ‘फास्टर देन इभर’ भनेका कारण नेपाललाई पनि यो विषय उठाउन सहज रहेको उनले बताइन्।

‘हिमाली क्षेत्रको ग्रेगान (मोरेन) तातेका कारण हिमताल बिस्फोट हुनसक्ने देखिएको छ,’ वाग्लेले भनिन्, ‘१.५ डिग्रीभन्दा माथि तापक्रम वृद्धि भयो। हामी कस्तो जोखिममा छौं भन्ने दृश्य प्रस्तुत गर्दैछौं।’

ग्लेसियरबाट बनेका ताल फुट्दा हाम्रो तल्लो तटमा बनेका विभिन्न संरचनामा क्षति पुग्ने, पहिरो जानेलगायत समस्याबारे नेपालले ध्यानाकर्षण गराउने वाग्लेले उल्लेख गरिन्।

‘विश्वलाई हामीले १.५ डिग्रीभन्दा धेरै तापक्रम वृद्धि हुने अवस्था आउनै हुँदैन भन्न सहयोगी प्रमाणका रूपमा ग्लेसियर पग्लिएको विषय उठाउन लागेका हौं,’ उनले भनिन्।

आइपिसिसीको रिपोर्टले विश्व्यापी तापमान वृद्धिको प्रमुख कारण ग्रिन हाउस ग्यास उत्सर्जन भएको उल्लेख गरेको छ। पृथ्वीको वायुमण्डलमा ७८ प्रतिशत नाइट्रोज र २१ प्रतिशत अक्सिजन रहेको छ। बाँकी १ प्रतिशत आर्गन छ। त्यसबाहेक ०.६ प्रतिशत अन्य वायु छन्। तिनै वायु मिलेर हरित गृह ग्यास बन्ने गरेका छन्। जसमध्ये सबभन्दा चिन्ता पैदा गर्ने वायु कार्बनडाइअक्साइड हो। पेट्रोलियम पदार्थ प्रयोग, जंगल नाश, उद्योग कलकारखानाका धुँवा र फोहोरले पृथ्वीमा कार्बनडाइअक्साइड वृद्धि गराइराखेको छ। यसरी कार्बन, मिथेन सहितका हरितगृह ग्यासका कारण पृथ्वीको माथिल्लो सतह ढाक्न थालेको छ। जसका कारण पृथ्वीको सिसाको घर जस्तो बन्दै गएको छ। यसरी तापक्रम बढ्दा पृथ्वीमा जोखिम बढिरहेको छ।

इसिमोडका अनुसन्धानकर्ता अरुणभक्त श्रेष्ठका अनुसार गाई, भैंसी उग्राउँदा र तिनीहरूका दिसा-पिसाबबाट समेत पृथ्वीलाई असर पार्न सक्ने मिथेन ग्यास निस्कन्छ। विश्वका विभिन्न विकसित मुलुकले प्रयोग गर्ने पेट्रोलियम पदार्थका कारण सबैभन्दा धेरै कार्बन उत्सर्जन भइरहेको श्रेष्ठले बताए। कार्बनको उत्सर्जन नघटाउने हो भने पृथ्वी नै खतरामा पर्दै जाने वैज्ञानिकहरूको चेतावनी छ।

‘यसरी कार्बन उत्सर्जनका कारण सबैभन्दा पीडित भने नेपालजस्ता मुलुक भइराखेका छन्। गरिब भएपछि जोखिम पनि बढी हुन्छ,’ श्रेष्ठ भन्छन्, ‘हामीले हाम्रा एजेन्डा जोडतोडका साथ अन्तर्राष्ट्रियस्तरमा उठाउन सक्नुपर्छ।’

काठमाडौं विश्वविद्यालयका प्राध्यापक रिजनभक्त कायस्थ नेपालजस्ता मुलुकले पूर्व-सूचना प्रणालीसमेत व्यवस्थित गर्न नसक्दा जोखिम बढिरहेको बताउँछन्।

‘यसपटक उच्च हिमाली क्षेत्रमा भेल-बाढी आएको छ,’ कायस्थ भन्छन्, ‘जोखिम बढेकाले हाम्रा जनजीवनमा असर परेको छ। संचरनामा क्षति पुगेको छ। कम्तीमा हामीले पूर्वसूचना प्रणालीका लागि भए पनि विश्वको ध्यानाकर्षण गराउनुपर्ने अवस्था छ।’

By मनोज सत्याल

Journalist

Leave a comment

Your email address will not be published.