कसरी हिमाली भेगमा पुग्यो डेंगी फैलाउने लामखुट्टे

केही वर्षअघिसम्म तराई जिल्लामा मात्र फैलिने डेंगीले अब काठमाडौंलाई समेत आक्रान्त बनाउन थालेको छ।

डेंगी सार्ने कालो र सेतो रङको मसिनो लामखुट्टे प्रजाति काठमाडौंमा पहिलोपटक सन् २००९ मा पत्ता लागेको थियो। त्यति बेला काठमाडौं र ललितपुरमा गरिएको अनुसन्धानले यहाँको हावापानीमा डेंगी लामखुट्टे सक्रिय देखेर अनुसन्धानकर्ता चकित परेका थिए।

पछिल्ला १३ वर्षमा यो लामखुट्टेले काठमाडौंलाई आफ्नो स्थायी बासस्थान मात्र बनाएको छैन, यसपालि दोस्रोपटक डेंगी रोगले महामारीको रूप लिँदैछ।

यो वर्ष मनसुन सुरू भएयता काठमाडौं उपत्यकाका तीन जिल्लामा तीन हजारभन्दा बढी डेंगीका बिरामी देखिएका छन्। यो देशभरिका डेंगी बिरामीको आधाभन्दा बढी हो। देशभरि ५ हजारभन्दा बढीलाई डेंगी लागेको तथ्यांक छ।

यस्तै महामारी सन् २०१९ मा पनि थियो। त्यति बेला झन्डै १८ हजार जनालाई डेंगी लागेको थियो। छ जनाले ज्यान गुमाएका थिए। उपत्यकाको काठमाडौं र ललिपुरमा मात्र २ हजार १ सयभन्दा बढीमा संक्रमण फेला परेको थियो।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको वार्षिक प्रतिवेदन (२०७७/७८) अनुसार सन् २००४ मा नेपालमा पहिलोपटक डेंगीका बिरामी देखिएका थिए। त्यति बेला जापानबाट आएका व्यक्तिमा डेंगी देखिएको थियो।

त्यसपछि सन् २००६ बाट नेपालका तराई जिल्लामा फैलिन थाल्यो। त्यस वर्ष नौ जिल्लामा ३२ जना बिरामी भेटिएको महाशाखाको तथ्यांक छ।

सन् २०१२-१३ मा चितवन, झापा, पर्सा लगायत क्षेत्रमा डेंगी देखियो भने सन् २०१७ मा रूपन्देही र महोत्तरी पनि थपिए। त्यसपछि सन् २०१८ मा कास्की जिल्ला थपियो। अहिले देशका हिमाली जिल्लाबाहेक सबै क्षेत्रमा यो रोग फैलिएको विशेषज्ञहरू बताउँछन्।

आकारमा अतिसानो, झट्ट देख्दा पनि नदेखिने र दिउँसै सक्रिय हुने ‘एडिज’ प्रजातिको लामखुट्टेले सार्ने डेंगी रोग कम समयमै यति तीव्र फैलिनुको कारण के हो त?

उच्च तापक्रम भएका ठाउँमा मात्र फैलिन्छ भन्ठानिएको डेंगीले काठमाडौं लगायत उच्च पहाडी क्षेत्रलाई समेत कसरी आफ्नो चपेटमा लिँदैछ?

यो स्टोरीमा हामी डेंगी फैलिनुका चार प्राविधिक कारण र कति-कति समयमा यसले महामारीको रूप लिन्छ भन्नेबारे चर्चा गर्दैछौं।

सबभन्दा पहिला कारणमा जाऔं।

सन् २०२१ को जुन महिनामा नेपाल हेल्थ रिसर्च काउन्सिलका मेघनाथ धिमालसहित १४ जना अध्येताहरूले लामखुट्टेको टोकाइबाट सर्ने डेंगी लगायत रोगको अनुसन्धान गरेका थिए। उनीहरूले नेपालमा यति तीव्र गतिले डेंगी फैलिनुमा जलवायु परिवर्तनलाई एउटा मुख्य आधार मानेका छन्।

‘जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण मलेरिया, डेंगी, चिकनगुनिया, जापानिज इन्सेफ्लाइजिसजस्ता रोगमा बढोत्तरी देखिएको छ,’ उक्त अध्ययनमा भनिएको छ, ‘पहिले खासै असर नदेखिएको ठाउँमा पनि यस्ता रोग महामारीका रूपमा फैलिन थालेका छन्।’

सन् २०१५ मा नेपाल हेल्थ रिसर्च काउन्सिलसहित पाँचवटा संस्थाले गरेको अर्को अध्ययनमा पनि जलवायु परिवर्तनका कारण नेपालका उच्च पहाडी क्षेत्रमा समेत डेंगी लामखुट्टेको बसोबास सुरू भएको उल्लेख छ।

विभिन्न अध्ययनहरूको यस्तो निष्कर्षलाई जल तथा मौसम विज्ञान विभागको देशव्यापी तापक्रम विश्लेषणले पुष्टि गर्छ।

विभागले सन् १९७१ देखि २०१४ सम्मको तथ्यांक विश्लेषण गरेर नेपालको अधिकतम तापक्रम वार्षिक ०.०५६ डिग्रीका दरले बढिरहेको जनाएको थियो। विभागले सन् २०१७ मा यो तथ्यांक सार्वजनिक गरेको हो।

त्यसको दुई वर्षपछि २०१९ मा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले गरेको अर्को अध्ययनबाट हरेक दस वर्षमा एउटा चिसो रात घटेको पाइएको छ। चिसा दिनहरूमा पनि आधा दिनको चिसोपना कम भएको अध्ययनले देखाएको छ। त्यही अध्ययनले गर्मीका दुई रात र एक दिन बढेको निष्कर्ष निकालेको छ।

तापक्रम वृद्धि र गर्मी दिनहरू बढ्दै जानुले डेंगी सार्ने एडिज लगायत अन्य विभिन्न प्रजातिका लामखुट्टे हुर्किन अनुकूल वातावरण दिएको विज्ञहरू बताउँछन्।

‘डेंगी लामखुट्टे काठमाडौंको वातावरणमा घुलमिल हुन थालेको छ। यसको लार्भा तीन वर्षसम्म यहाँको वातावरणमा बस्न सक्ने देखियो,’ शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा कार्यरत डाक्टर शेरबहादुर पुनले सेतोपाटीसँग भने, ‘यो प्रजातिको लामखुट्टेका लागि एकातिर काठमाडौंको वातावरण सहज भइदियो भने अर्कातिर सवारी साधनको व्यापक ओहोरदोहोरका कारण तराईबाट अन्यत्र यात्रा गर्न सहज भयो।’

धिमालसहित १४ जना अध्येताले आफ्नो अनुसन्धान क्रममा समुद्री सतहबाट ८५ मिटर उचाइको वीरगन्जदेखि २१ सय मिटर उचाइको धुन्चेसम्म ८ सय ३४ वटा घरबाट जमेका पानीको नमूना संकलन गरेका थिए। उनीहरूले ती सबै ठाउँमा डेंगी फैलाउने लामखुट्टेका जीवाणु फेला पारेका थिए। यसले पनि डेंगी लामखुट्टेको बसाइ तराईदेखि उच्च पहाडी भेगसम्म फैलिसकेको देखाउँछ।

डेंगी फैलाउने एडिज लामखुट्टे दुई किसिमका हुन्छन् — एडिज इजिप्टाइ र एडिज अल्बोपिक्टस। हामीलाई टोक्ने प्रजाति ‘एडिज इजिप्टाइ’ हो। यसले हाम्रो घरभित्रै आफ्नो जीवनचक्र चलाउँछ। यो अल्बोपिक्टसभन्दा चहकिलो कालो हुन्छ। अल्बोपिक्टस भने झाडी र बारीमा बढी सक्रिय रहन्छ। त्यसैले सहरी क्षेत्रमा त्यति देखिन्न। इजिप्टाइ भने हामीबीच नै हुर्कंदै जान्छ।

यी दुवै प्रकारका लामखुट्टेका लागि १० देखि २५ डिग्री सेल्सियससम्मको वातावरण उत्तम मानिन्छ। बढ्दो तापक्रम वृद्धिले उच्च पहाडी क्षेत्रसमेत यी लामखुट्टेका लागि बसोबास र प्रजनन निम्ति अनुकूल बन्दै गइरहेको छ।

डेंगी लामखुट्टेको प्रभाव बढ्नुमा तापक्रम वृद्धि मात्र कारण छैन। सन् २०१९ र यस वर्ष डेंगी महामारीको अवस्था विश्लेषणबाट अर्को पनि कारण देखिएको छ।

यी दुवै वर्ष नेपालमा सामान्यभन्दा छिटो मनसुन सुरू भएको थियो। बर्खा छिटो सुरू भयो भने डेंगी प्रजातिका लामखुट्टेले हुर्किन र प्रजनन गर्न बढी समय पाउँछ।

सन् २०१९ मा शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा कार्यरत डाक्टर बासुदेव पाण्डे र ग्लोबल हेल्थ एन्ड सस्टेनेबल डेभलपमेन्ट युनिभर्सिटी कलेज लन्डनका एन्थोनी कोस्टेलोले तयार पारेको रिपोर्टअनुसार त्यति बेला बर्खालगत्तै सुरू भएको डेंगी संक्रमण तीन महिनाको बीचमा डढेलोसरी फैलिएको थियो। देशका ७७ मध्ये ६८ जिल्लामा डेंगी बिरामी भेटिएका थिए। बढ्दो तापक्रम, वर्षा र आर्द्रताका कारण डेंगी लामखुट्टेको बासस्थान फराकिलो हुँदै गएको उक्त अध्ययनको निष्कर्ष थियो।

यस वर्ष पनि लगभग सन् २०१९ कै अवस्था छ। सामान्यतया जेठको अन्तिम साता मात्र सुरू हुने मनसुनी गतिविधि यसपालि जेठ २ देखि नै सुरू भएको थियो। मौसमविदहरूले डेढ दशकमै सबभन्दा चाँडो मनसुन सुरू भएको उल्लेख गरेका छन्। बर्खा जति छिटो भयो, लामखुट्टेका लार्भा उति छिटो विकसित हुन्छन् र यसले डेंगी संक्रमण उति धेरै फैलाउँछ।

डेंगी फैलिनुको तेस्रो कारण तीव्र गतिमा भइरहेको सहरीकरण हो। डेंगी लामखुट्टेको स्वभावै यस्तो छ, यसलाई गाउँभन्दा सहरी क्षेत्रमा हुर्किन सजिलो हुन्छ।

हामी सधैं सुन्छौं, घरवरिपरि फोहोर पानी छ भने लामखुट्टेको बिगबिगी बढ्छ। डेंगी लामखुट्टेलाई भने फोहोर होइन, सफा पानी चाहिन्छ। यसले सफा पानीमै फुल पार्छ। बाल्टिन, ड्रम वा कुनै सानो भाँडोमा थोरै पानी छ भने पनि घर बनाइहाल्छ। त्यहीँ फुल पार्छ, त्यहीँ ‘लार्भा’ हुर्किन्छन्।

काठमाडौंजस्तो सहरी क्षेत्रमा खानेपानी अभावले बाटा, बाल्टिन, ड्रममा पानी जम्मा गरेर नराखी धर पाइन्न। यसरी नै जम्मा गरेर राखेका पानीमा डेंगी लामखुट्टे हुर्किरहेका हुन्छन्।

यति मात्र होइन, मिनरल वाटर बोतलको बिर्कोमा अलिकति पानी जम्मा छ भने पनि यसको जीवनचक्र चल्छ। प्लास्टिकका टुटेफुटेका भाँडाकुँडा, पेयपदार्थका क्यान, गमलामुनि पानी तर्काउन राखिएका प्लेट पनि डेंगी लामखुट्टे हुर्कने सहज ठाउँ हुन्। घरका छतमा राखिने पानीट्यांकी पनि यस्तो लामखुट्टेको सजिलो बासस्थान हो। बिर्को खुलेको मौकामा भित्र छिरेर फुल पार्न पायो भने ह्वारह्वार्ती फैलिन्छ।

‘सहरमा सवारी साधनका वर्कसप धेरै खुल्छन्। त्यस्ता ठाउँमा पानी जम्मा हुने गर्छ। अझ सहरमा यत्रतत्र फालिएका पुराना टायरभित्र जम्मा हुने पानीमा त डेंगी लामखुट्टे सहजै विकास हुन्छ,’ डाक्टर पुनले भने।

सन् २०१६ मा अस्ट्रेलियाको सिक्यू विश्वविद्यालयका अनुसन्धाता दिनेश सुवेदी र एन्ड्रियू टायलरले गरेको अध्ययनले पनि बढ्दो सहरीकरणलाई डेंगी फैलिनुको एउटा कारण बताएको थियो।

‘अव्यवस्थित सहरीकरण, पानी राम्ररी प्रशोधन नहुनु, फोहोर व्यवस्थापनको कमजोरी लगायत कारणले लामखुट्टेसँग सम्बन्धित रोगहरू धेरै छिटो बढेको पाइएको छ,’ अध्ययनमा भनिएको छ।

बढ्दो सहरीकरणका कारण डेंगी लामखुट्टेको प्रभाव बढेको नेपालमा मात्र होइन, संसारभरि यस्तै अवस्था छ।

एक अध्ययनअनुसार संसारभरिका २ अर्ब ५० करोड जनसंख्या कुनै न कुनै रूपले डेंगी लामखुट्टेको जोखिममा छ। सन् २०१८ मा ‘द लेन्सेन्ट क्लाइमेट काउन्टडाउन रिपोर्ट’ ले सन् १९५० यता मात्र विश्वव्यापी रूपमा एडिज इजिप्टाइको विस्तार ९.१ प्रतिशत बढेको र एडिज अल्बोपिक्टस ११.१ प्रतिशत बढेको उल्लेख गरेको छ।

मौसम परिवर्तन, समयभन्दा छिटो वर्षा र तीव्र सहरीकरणसँगै सहज सवारी आवागमनले पनि डेंगी लामखुट्टेलाई आफ्नो प्रभाव क्षेत्र फैलाउन मद्दत गरिरहेको छ।

विज्ञहरूका अनुसार यी लामखुट्टे पनि मान्छेजस्तै गाडी चढेर तल गर्मी भेगबाट माथि उक्लेका हुन्। सवारीको बढ्दो ओहोरदोहोरसँगै कुनै सामानमा टाँसिएर यिनका फुल नयाँ ठाउँ पुग्छन्। अनुकूल वातावरण नपाए त्यसै मर्छन्, पाए हुर्कन थाल्छन्।

यति मात्र होइन, सुरूका दिनमा बाँच्न गाह्रो हुने मौसममा पनि बिस्तारै यी लामखुट्टे अभ्यस्त हुँदै जान सक्छन्।

हिमाली क्षेत्रको पदयात्रामा जाँदा जसरी मान्छेले एकपछि अर्को उचाइमा पुगेपछि त्यहाँको हावापानी र अक्सिजनको मात्रासँग आफ्नो शरीरलाई अभ्यस्त गराउनुपर्छ, यी लामखुट्टे पनि पहाडी भेगमा उक्लँदा आफूलाई अभ्यस्त गराउँदै हिँड्छन्। कुनै निश्चित समयकालपछि उनीहरू त्यही ठाउँको हुन्छन्।

उदाहरणका लागि, आजभन्दा पन्ध्र वर्षअघिसम्म काठमाडौंको हावापानी डेंगी लामखुट्टेको निम्ति अन्जान थियो, आज ऊ रैथाने कीराहरूजस्तै यहाँको वातावरणमा घुलमिल भइसकेको छ।

यी त भए डेंगी लामखुट्टेको प्रभाव क्षेत्र विस्तारको कुरा। यसको महामारीमाथि भएका अध्ययनले एउटा अर्को रोचक निष्कर्ष पनि निकालेको छ।

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय बायोटेक्निकल विभागका वीरेन्द्रप्रसाद गुप्तासहितका अध्येताहरूले सन् २०१८ मा प्रकाशित गरेको अध्ययनअनुसार नेपालमा प्रत्येक तीन वर्षको अन्तरालमा डेंगी महामारी देखिएको छ।

सन् २००४ मा जापानबाट आएका यात्रुलाई डेंगी देखिएको घटनापछि २००६ मा पहिलोपटक ३२ जनामा डेंगी देखिएको थियो। त्यसपछि २०१० मा ठूलो मात्रामा डेंगी फैलियो। त्यसपछि बर्सेनि फाट्टफुट्ट डेंगी बिरामी भेटिए पनि यसको खास प्रभाव भने सन् २०१०, २०१३ र २०१६ मा परेको अध्ययनमा छ।

यो क्रम यहीँ रोकिएन।

गुप्तासहितका अध्येताहरूले भनेजस्तै २०१६ पछि २०१९ मा डेंगी ठूलो महामारीका रूपमा फैलियो भने त्यसपछि अहिले २०२२ मा त्योभन्दा ठूलो महामारी देखिएको छ। यसरी हेर्दा प्रत्येक तीन वर्षमा डेंगी फैलिन्छ भन्ने अध्ययनको भनाइ पुष्टि हुन्छ।

‘हामीकहाँ जस्तै तीन-तीन वर्षमा डेंगी फैलिने चक्र ब्राजिल र क्युबामा समेत देखिएको छ,’ उक्त अध्ययनमा भनिएको छ।

By मनोज सत्याल

पत्रकार

Leave a comment

Your email address will not be published.