काठमाडौंमा किन बढिरहेको छ बाढी र डुबान

तस्बिर : नबिन बाबु गुरुङ

मुलचन्द महाउत २०७८ साल भदौ २० गते राती बल्खु पुलछेउको आफ्नै टहरामा सुतिरहेका थिए।

राती ११ बजेतिर पानी पर्न थाल्यो। टहरा छाएको जस्तापाता जोडजोडले बज्न थाल्यो। बागमती उर्लेको आवाज झन् चर्कियो।

तीन बजेतिर टहराभित्रै पानी छिर्‍यो। महाउत दम्पती तीन छोरा र तीन छोरी च्यापेर बल्खु पुल उक्ले। मुलचन्द यहाँ बस्न थालेको ११ वर्ष भयो। बाँकेको हरमिनियाबाट आइपुगेका उनी ज्यामी काम गर्छन्।

उनको टहरा बाढीले त बगाएन। तर खाने सामग्रीसहित ओढ्ने-ओछ्याउने, सबै सामान बिग्रिए।

बल्खु किनारमा ५ सय १३ टहरा छन्। झन्डै तीस वर्षदेखि बल्खु, बागमती किनारमा बस्दै आएको सुकुम्बासी बस्ती यसपालि बर्खामा बाढीको चपेटामा पर्‍यो।

‘२०७३ सालमा टहरामा पानी छिरेको थियो,’ मुलचन्दले सम्झिँदै भने, ‘यसपटक बस्तीका ८ वटा टहरा बगायो।’

बगेका टहरामध्ये एउटा सरोज महाउतको हो। उनको टहरासहित सबै सामान बाढीले लग्यो। अहिले सरोजको परिवारै त्यही बस्तीको अर्को टहरामा भाडामा बसिरहेको छ।

बाढीले बगाउन नसकेको टहराको ढोका छेवमा सरोज महाउत । तस्बिर : मनोज सत्याल

उक्त दिन राती काठमाडौंको एयरपोर्टको स्टेसनले साढे २ बजेदेखि बिहान ६ बजेसम्ममा १०५ मिलिमिटर वर्षा मापन गरेको थियो।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद मिनकुमार अर्यालका अनुसार भदौ २१ गते काठमाडौंको एयरपोर्टले २४ घन्टामा १२१.५ मिलिमिटर वर्षा मापन गरेको थियो। यो सन् १९६८ यताकै तेश्रो ठूलो वर्षा हो।

काठमाडौं जस्तै उक्त दिन भक्तपुरमा पनि धेरै पानी परेको थियो।

भक्तपुरको नगरकोटस्थित स्टेसनले उक्त दिन १२२.४ मिलिमिटर वर्षा मापन गरेको छ। सन् १९७१ मा राखिएको स्टेसनले रेकर्ड गरेको यो पाँचौं ठूलो वर्षा हो।

विभागका इञ्जिनियर सञ्जयकुमार साहका अनुसार उक्त दिन परेको पानीका कारण खोकनाको स्टेसनमा बागमतीको उचाइ ४.७ मिटर पुगेको थियो। बर्षाको समयमा काठमाडौंमा पानीको सतह सामान्यतया दुई मिटरभन्दा तलै रहने गरेको छ।

खोकनास्थित जल तथा मौसम विभागको स्टेसनले भदौ २१ गते काठमाडौं उपत्यकामा मापन गरेको जल सतह। स्रोत : जल तथा मौसम विभाग 

जिल्ला प्रशासन कार्यालय, काठमाडौंका अनुसार उक्त दिन काठमाडौंका ३८५ घर टहरा डुबानमा परे। प्रहरीले २३२ जनाको उद्धार गरेको थियो। कालिमाटी प्रहरीका अनुसार उक्त दिन बल्खु क्षेत्रमा ९५ घर डुबानमा परे। त्यस्तै आठ वटा सवारीसाधन सञ्चालन हुन नसक्ने गरी डुबे। बल्खु तरकारी बजारमा लाखौंको तरकारी नष्ट भयो।

काठमाडौं उपत्यकाको नदी किनार पछिल्लो समय वर्षालगत्तै डुबानमा पर्न थालेका छन्।

सन् २००२ जुलाइमा आएको बाढीका कारण काठमाडौं उपत्यकामा २८ जनाको ज्यान गयो। ५४ करोड रूपैयाँ बराबरको क्षति भयो। युएन ह्याबिट्याटले सन् २०१५ मा काठमाडौंमा जलवायु परिवर्तन असरबारे अध्ययन गरेको थियो। भादगाउँ, बानेश्वर, सामाखुसी, धोबीखोला र कीर्तिपुर क्षेत्रको नदी किनारमा बाढीको जोखिम बढी भएको उक्त अध्ययनले देखाएको छ।

‘बाढीकै कारण सन् १९७१ देखि सन् २०१५ सम्ममा ३४ जनाको मृत्यु भएको र २०१ घरमा क्षति पुगेको छ,’ अध्ययनमा भनिएको छ, ‘उपत्यकामा बाढीको घटना ०.८७ प्रतिशतले बढोत्तरी भएको छ।’

डुबानमा परेको बल्खुको बागमती किनारको सुकुम्बासी बस्ती। तस्बिर: निशा भण्डारी/सेतोपाटी

२०७५ र ०७६ सालमा भक्तपुरको हनुमन्ते र मनोहरा खोला आसपासको बस्ती पनि डुबानमा पर्‍यो।

जल उत्पन्न प्रकोप विभागको अध्ययनअनुसार विष्णुमती र बागमती मिलेको ठाउँभन्दा तल्लो भागमा बाढीको जोखिम उच्च छ। त्यस्तै मनोहरा-कोड्खु मिल्ने ग्वार्को क्षेत्र र नख्खु-बल्खु खोला मिल्ने बल्खु क्षेत्र बाढीको जोखिममा छ।

सरकारले यसै वर्ष तयार पारेको जलवायु संकटासन्नता तथा जोखिम विश्लेषण सम्बन्धी रिपोर्टमा पनि बल्खु क्षेत्रमा बाढी जोखिम धेरै भएको उल्लेख छ।

जलवायु परिवर्तनका कारण कुनै पनि बेला एक्कासि ठूलो पानी पर्ने र बाढीले भवन तथा बस्तीमा क्षति पुर्‍याइरहेको रिपोर्टमा उल्लेख छ, ‘काठमाडौंमा बाढीका धेरै घटना भएका छन्। किनारमा बनेका ४८ प्रतिशत घर अस्थायी टहरा छन्। दुई प्रतिशत मात्र सिमेन्ट र इँटाले बनेका छन्। सन् २०१८ मा बल्खु क्षेत्रमा सुकुम्बासी बस्ती र निजी घर जग्गा डुबानमा परे। बल्खु क्षेत्रमा २० घर बगायो। सन् २००२ मा बल्खु खोला किनारमा एउटा गार्मेन्ट कारखानामा क्षति पुग्यो।’

भक्तपुरमा भएको डुबान। तस्बिर : नारायण महर्जन/सेतोपाटी

किन बढिरहेको छ काठमाडौं उपत्यकामा बाढी?

नदी नियन्त्रण गर्न बाँध बाँधिएका कारण पछिल्लो समय काठमाडौंका किनार डुबानको जोखिममा परेका छन्। भदौको बाढीमा बल्खु-बागमती बाँधभन्दा माथि (ओभर द टप) बाट बगेको थियो।

भौगर्भिक प्रकोपविद श्रीकमल द्विवेदी काठमाडौंका नदीमा बाँध निर्माण गर्दा प्रकोपलाई ध्यान नपुर्‍याइएको बताउँछन्।

उनले भने, ‘पछिल्लो समय जलवायु परिवर्तनले क्षणभरमै ठूलो वर्षा हुने घटना भएका छन्। नदीमा बाँध बनाउँदा यस्ता घटनालाई ध्यान दिनुपर्छ।’

द्विवेदीका अनुसार बाढीका घटना अझै बढ्ने अवस्था छ।

यसको पहिलो कारण बढ्दो सहरीकरण हो।

‘पहिला वर्षामा खेतमा पानी जम्थ्यो। त्यो पानी कतिपय जमिनले सोस्थ्यो, कति विस्तारै खेतका गरा भरिएर नदीमा आउँथे,’ उनले भने, ‘अहिले घर र सडकका कारण जमिनले पानी सोस्न पाउँदैन। पानी ढल हुँदै सिधै नदीमा पुग्छ। ठूलो पानी पर्दा एकैपटक धेरै पानी सिधै नदीमा पुग्ने भएकाले छिट्टै बाढीको रूप लिन्छ।’

जमिनको सतहमा परेको पानी मध्ये बग्ने पानीको मात्रालाई ‘रन अफ कोफिसियन्ट’ भनिन्छ। घर बन्ने क्षेत्र बढ्दै गएको तथा सोसिने जमिन नभएकाले काठमाडौंमा रन अफ कोफिसियन्ट बढ्दो छ। सँगसँगै बग्ने पानीको गति पनि बढ्दो छ। त्यसले बाढीको अवस्था सिर्जना गर्छ।

किनारमा बाढी जोखिम रहेको ठाउँमा घर बनाउन अनुमति दिइनाले डुबान बढिरहेको द्विवेदीको तर्क छ। तर किनारमा, डुबान हुने क्षेत्रमा घर बढ्दै जाँदा पानीको गति कति बढ्दै जान्छ लगायत विषयमा अध्ययनै नभएको उनी बताउँछन्।

‘हामीकहाँ बाँध बनाउनुअघि सही ढंगले अध्ययनै भएको छैन,’ उनले भने, ‘प्रकोप रोक्न इञ्जिनियरिङ हिसाबले राम्रो अध्ययन जरूरी छ।’

सही ढंगको अध्ययन भनेको कस्तो? 

द्विवेदीले यसलाई बुझाउन एउटा चुट्किला सुनाए- एउटा मान्छेका चार जना छोरा/छोरी थिए जसको उचाइ दुई, तीन, चार र पाँच फिट थियो। बाबुले सबैको उचाइ अध्ययन गरेर सरदर उचाइ साढे तीन फिट निकाले। एकदिन छोराछोरीसहित जंगल जाँदा नदी तर्नुपर्‍यो। उनले नदीको सरदर गहिराइ निकाले। साढे तीन फिट आयो। छोराछोरीको सरदर उचाइ साढे तीन फिट सम्झेर उनी नदी तर्न खोजे। साढे पाँच फिटको खाल्डोमा परे र सबै डुबे।

‘यसबाट के बुझ्ने भने, प्रकोप अध्ययन गर्दा हामीले सबभन्दा ठूलो जोखिम आकलन गर्नुपर्छ,’ द्विवेदीले भने, ‘बागमतीमा बाँध बनाउँदा माथिल्लो क्षेत्रको बस्ती विस्तारदेखि यो क्षेत्रमा हुन सक्ने सबभन्दा ठूलो वर्षाको आकलन गर्नुपर्थ्यो।’

एसियाली विकास बैंकले बागमती व्यवस्थापन परियोजना अगाडि बढाउँदा यहाँको वर्षातको ट्रेन्ड मात्र अध्ययन गरेको थियो। परियोजना अन्तर्गत बागमती करिडोरमा अहिले बाँध, पार्क र माथिल्लो क्षेत्रमा धाप निर्माणको काम भइरहेको छ।

बागमती सभ्यता एकीकृत विकास समितिका प्रवक्ता कमल अर्यालका अनुसार बागमती अध्ययनको पुनरावलोकन गर्ने तयारी भइरहेको छ।

‘पुनरावलोकन प्रक्रिया अघि बढेको छ। हामी बीस वर्षको कार्ययोजना तयार पारिरहेका छौं,’ अर्यालले सेतोपाटीसँग भने, ‘विगतमा लिइएका आधार र रिपोर्टिङ तथा नदीको मापदण्डको विषयमा मास्टरप्लान बनाउँदै छौं।’

जल उत्पन्न प्रकोप विभागले काठमाडौं उपत्यकामा नदी किरानामा बाढी र डुबान क्षेत्रको जोखिमयुक्त स्थानको पहिचान गरेको छ। स्रोत : विभागको प्रतिवेदन

शिवपुरी डाँडाको बागद्वारबाट उत्पन्न बागमतीमा ठाउँठाउँबाट विभिन्न खोला मिसिन्छन्। त्यही आधारमा बागमतीका लागि बहाब क्षेत्र निर्धारण भएको छ।

अर्यालका अनुसार सुन्दरीजलबाट गोकर्णसम्म बागमतीको बहाबका लागि २० मिटर, गोकर्णबाट नारायणटार पुलसम्म ३५ मिटर, नारायणटार पुलदेखि गुह्येश्वरी मन्दिरसम्म ४० मिटर, तिलगंगाबाट मनोहरा मिसिने ठाउँ च्यासलसम्म ३० मिटर, च्यासलबाट धोबीखोला बागमतीमा मिसिने ठाउँ बुद्धनगरसम्म ४० मिटर र च्यासलबाट विष्णुमती मिसिने टेकुसम्म ६० मिटर बहाब क्षेत्र तोकिएको छ। विष्णुमती मिसिएको ठाउँदेखि चोभारसम्म बागमतीको बहाब क्षेत्र ८० मिटर कायम छ।

तर यसरी कायम गरिएका ठाउँ साँघुरो भएको र यसले बाढीको खतरा बढाएको पछिल्ला अध्ययनले देखाएका छन्। नदी इञ्जिनियरिङबारे जापानको क्योटो विश्वविद्यालयबाट विद्यावारिधि गरेका सरोज कार्कीका अनुसार सहरीकरण भन्दा पनि नदीको प्राकृतिक बहावमा नियन्त्रण गर्नाले बाढी जोखिम बढिरहेको छ।

‘नदीको प्राकृतिक बहावमा जनु अतिक्रमण भएको छ, त्यो बाढीले उत्पन्न गर्ने डुबानको कारक भएको अध्ययनले देखाएको छ,’ कार्कीले भने, ‘कुपण्डोल क्षेत्रमा नदीको प्राकृतिक बहाव १७५ मिटर थियो। अहिले त्यहाँको माथिल्लो क्षेत्रमा नदी किनार ७० मिटर जति छ। भक्तपुरको हनुमन्तेमा पनि प्राकृतिक बहाव क्षेत्र रोक्ने काम भएको छ।’

जल उत्पन्न प्रकोप विभागले सन् २००९ मा गरेको अध्ययनले मनोहरा, बागमती, धोबिखोला, विष्णुमती, गोदावरी, हनुमन्ते र बल्खुमा आउन सक्ने बाढीका लागि बहाव क्षेत्र अभाव हुने उल्लेख गरेको छ, ‘मनोहरा, बागमती, धोबिखोला, विष्णुमती, महादेव खोला, काराखुसी, बल्खु, नख्खु, कोड्खु, गोदावरी, हनुमन्तेका लागि क्रमश: ४२-१३० मिटर, ५१-२०५, ३१, २८-८३, १६-३१, ३०,५०,५६,३४, १३-५१ र ७८ मिटर चौडाइ आवश्यक हुन्छ। यसमा ध्यान दिएर मात्र कुनै पनि संरचना र भवन बनाउनु उपयुक्त हुन्छ।’

कार्कीका अनुसार काठमाडौं उपत्यकामा नयाँ क्षेत्रमा डुबान हुने सम्भावना भने कम छ।

‘अहिले जुन क्षेत्रमा डुबान भइरहेको छ, त्यहीँ डुबान बढ्ने अध्ययनबाट देखिएको छ। अहिलेको वर्ष एक मिटर डुबेको ठाउँ अर्को पटक थप डुब्दै जाने देखिन्छ। त्यसको भौगर्भिक कारण नदी सतहसँगै बस्ती हुनु हो।’

पानी बग्ने स्थानमा बाँध बाधिएकाले किनारमा बाढी आउँदा पानी बस्तीमा छिर्न थालेको कार्कीले बताए। उनका अनुसार दुवै किनारमा भएका ठाडो पर्खालले नदीलाई कुलोजस्तो बनाएको छ। नदीको बहाव तल साँघुरो र माथि फिँजारिएको हुन्छ। नदीको इञ्जिनियरिङ सिद्धान्तअनुसार पर्खाल लगाउँदा प्राकृतिक आकारमा बनाउनु उचित हुन्छ। त्यसले केही मात्रामा बाढी नियन्त्रण गर्न सक्थ्यो।

एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अनुसन्धानकर्ता अरुणभक्त श्रेष्ठका अनुसार जलवायु परिवर्तनका कारण हुने अत्यधिक वर्षाका कारण पनि बाढी जोखिम बढ्दै गएको छ।

‘अत्यधिक वर्षा हुने दिन बढी भइराखेका छन् र यो भविष्यमा पनि हुने प्रक्षेपण छ,’ श्रेष्ठले भने, ‘यसले गर्दा बाढी आउने घटना बढ्नेछ।’

भदौ २१ गते उपत्यकामा परेको पानी जलवायु परिवर्तनका कारण भएको अत्यधिक वर्षाकै उदाहरण भएको उल्लेख गरे। उनका अनुसार यस्तो घटना सन् २००२ मा पनि भएको थियो।

‘जलवायु परिवर्तनको असर धेरै पानी र धेरै थोरै पानीबाट देखिन्छ,’ उनले भने, ‘खोलामाथि घर बनाइयो। बागमती र विष्णुमतीमा सरकारले नै पर्खाल लगाएर छेक्यो। साँघुरो बनायो। अब कताबाट बग्ने नदी र खोला?’

यस्तो अवस्थामा नदी/खोला कुनै पनि बेला प्राकृतिक स्वरूपमा फर्किदाँ विपद आउने श्रेष्ठको तर्क छ।

मध्यपश्चिम विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन सुदीप ठकुरीका अनुसार सामान्यतया दस मिलिमिटर वर्षा हुँदा प्रति वर्ग स्क्वायर किलोमिटरमा दस हजार टन पानी हुन्छ। नदीमा पर्खाल लगाउँदा पानी बग्ने ठाउँ हुँदैन र भरिएर बाहिर जान्छ। यसले झन् समस्या ल्याउँछ।

ठकुरीले भने, ‘बल्खु र हनुमन्तेमा यस्तो समस्या भएको छ। यसको कारण खोलामा पानी कति बहन्छ भन्ने अनुमान अध्ययनहरूबाट हुन सकेन।’

काठमाडौं उपत्यकाको पानीको सबैजसो निकास चोभार क्षेत्रबाट हुने गरेको छ। शिवपुरी, नगरकोटदेखिको जलाधार क्षेत्रको पानी चोभार आइपुग्छ।

एसियाली विकास बैंकले गरेको अध्ययनअनुसार बागमतीको जलाधार क्षेत्र ६२५ स्क्वायर किलोमिटरको छ।

‘ठूलो जलाधार क्षेत्र भएकाले वर्षा हुदाँ डुबानको जोखिम पनि धेरै छ,’ ठकुरीले भने, ‘भएको जमिन घरले ढाक्ने र सडक पिच गर्दा परेको पानी जमिनमाथि बहने भएकाले सहरमा बाढी बढ्दै गएको छ।’

बाढी र डुबानको अर्को महत्वपूर्ण कारण किनारमा फालिने फोहोर र ढल व्यवस्थापन गतिलो नहुनु पनि हो।

बागमती सभ्यता एकीकृत विकास समितिका प्रवक्ता कमल अर्यालका अनुसार ढलसँगै काठमाडौंका पहराहरूमा भइरहेको प्लटिङबाट बगेर आउने लेदोले बागमतीको नदी सतह बढेको छ। तत्कालका लागि समितिले नदीको सतह घटाएर बाढी नियन्त्रणको पहल भने गरिरहेको छ।

भौगर्भिक प्रकोपविद द्विवेदी घरको नक्सा पास गरेर अनुमति दिने र ढल लगायत व्यवस्थापन जिम्मेवारी पाएका पालिकाहरूलाई बाढीजन्य नियन्त्रण काममा संलग्न गराउनुपर्ने बताउँछन्। इसिमोडका अनुसन्धानकर्ता अरुणभक्त श्रेष्ठले पनि खोलामाथि भवन बनाउनेजस्ता काम तत्काल सच्याउनुपर्ने बताए।

‘पुतलीसडक र कमलादी क्षेत्रमा पुरानो इचु नदी पुरिएको छ,’  श्रेष्ठले भने, ‘यस्ता गतिविधि नसच्याउने हो भने विकराल रूप निम्तिन सक्छ।’

मध्यपश्चिम विश्वविद्यालयका डिन ठकुरीका अनुसार काठमाडौंमा मात्रै होइन नेपालका अधिकांश सहरी क्षेत्र यस्ता बाढी र डुबानको जोखिममा छन्।

वन तथा वातावरण मन्त्रालयले प्रकाशन गरेको जलवायु संकटासन्नता तथा जोखिम विश्लेषण सम्बन्धी रिपोर्टमा नेपालको आठ प्रतिशत भूभाग बाढीको जोखिममा रहेको उल्लेख छ। रिपोर्टले देशका २६ वटा नगरपालिका र ८५ वटा गाउँपालिका जलवायु परिवर्तनको जोखिममा रहेको देखाएको छ।

यसमध्ये बिराटनगर, ललितपुर, काठमाडौं, भरतपुर, पोखरा लेखनाथ, घोराही, तुलसीपुर, अति जोखिममा छन्। रिपोर्टले बढ्दो तापक्रम, वर्षाको मात्रामा अस्वाभाविक परिवर्तन भएर निम्तिने बाढी र डुबान जस्ता प्रकोप बढ्ने उल्लेख गरेको छ।

जलवायु संकटासन्नता तथा जोखिम विश्लेषण सम्बन्धी रिपोर्टले नेपालका गाउँपालिका र नगरपालिकाहरुलाई जलवायु संकटको आधारमा वर्गिकरण गरेको छ। स्रोत : प्रतिवेदन

काठमाडौं उपत्यकामा बढ्दो सहरीकरण, जलवायु परिवर्तनले निम्त्याउने वर्षाका घटना र खोलाका किनारामा लगाइएका अध्ययन विनाका बाँधका कारण बाढीको समस्या बढ्दै जाने देखिएको छ। बाढीको घटना बढ्दा बल्खु करिडोर र हनमुन्ते करिडोरमा रहेका घर टहरासँग जीउ धनको नाश हुने जोखिम समेत बढेको छ।

By मनोज सत्याल

पत्रकार

Leave a comment

Your email address will not be published.