‘लोकतन्त्र केवल राजनीतिक व्यवस्था होइन यो त सभ्यता हो’

कैलाश सत्यार्थी
  • कैलाश सत्यार्थी

तीस वर्ष अगाडिको घटना हो, भारतमा रहेका नेपाली दूतावास अगाडि हामी प्रदर्शनमा जुटेका थियौँ। केही नेपाली आप्रवासी संगठन, वुद्धिजीवी र अधिकारवादी संगठन मिलेर प्रदर्शनमा जुटेका थियौँ। लोकतन्त्रका लागि थियो त्यो प्रदर्शन। साल मलाई ठ्याक्कै याद भएन, तर त्यतिबेला म तीस वर्षको हुँदो हुँ।

अहिले म साठी वर्षको भएँ। तीस वर्षको युवा भएकाले ठूलो स्वरमा नारा लगाउन सक्थेँ। अहिले पनि सक्छु। नाराबाजी गरिरहेका हामीलाई त्यतिबेला दिल्ली प्रहरीले पक्रिएको थियो।
मलाई के थाहा- त्यो आन्दोलनमा सहभागी भएको मैले कुनैदिन लोकतान्त्रिक मुलुक नेपालको संविधानसभामा आएर सम्बोधन गर्न पाउँछु।

मेरो विश्वासमा लोकतन्त्र केवल राजनीतिक व्यवस्था होइन। यो त सभ्यता हो। मानवअधिकार र स्वतन्त्रतापूर्वक जीवन ज्यून पाउने अधिकार हो।

म यहाँ आएर सौभाग्यशाली महसुस गरिरहेको छु। यो संविधानसभामा आज जो सभासद् हुनुहुन्छ उहाँहरुले जे सोच्नुहुन्छ त्यसबाट देशको राजनीति तय हुन्छ। जे लेख्नुहुनेछ त्यो संविधान बन्नेछ।

१०० वर्षपछि जब नेपाल महान् र विश्वको शक्तिशाली राष्ट्र बन्नेछ त्यतिखेर तपाईँले लेखेको विषय दस्तावेज बन्नेछ, इतिहासमा चर्चा हुनेछ।

मित्रहरु मेरो नाम कैलाश हो। कैलाश शंकरजीको निवास हो। जुन कैलाश यहाँ नजिकै छ – पशुपतिनाथ पनि नजिकै छ। म भारतमा जहाँ जन्मिए नेपालसँग हाम्रो सम्बन्ध छ। राजनीतिक आर्थिक, खुला सीमाको मात्र होइन संस्कृतिको पनि, ‘डिएनए’कै सम्बन्ध छ।

म यहाँ तीस पैँतिस वर्षदेखि आइरहेको छु। नेपालभित्र म जति घुमेको छु, त्यति त नेपालीले पनि घुमेका छैनन् होला। हामीले नेपालका गाउँमा शिक्षाविना विकास हुँदैन भन्ने प्रचार गर्‍यौं।

यो जनकको देश हो। राजा जनकले आफ्नो छोरी सीताको विवाहका लागि एक प्रतिज्ञा गरे- जसले धनुष तोड्न सक्छ उसलाईमात्र छोरी दिन्छु। तर एक समय राजा जनकको प्रतिज्ञा पूरा नहोला जस्तो देखियो तर उनले प्रतिज्ञै अनुसार छोरीको विवाह गराए। त्यो एक बाबुको प्रतिज्ञा थियो।

त्यस्तै घटना भयो १४ वर्षअघि सन् २००४ मा। नेपालबाट आमा र बुबा मलाई दिल्लीमा भेट्न आए र भने- ‘हाम्री छोरी सर्कसमा छिन् छुटाइदिनु पर्‍यो।’

त्यो सर्कसको नाम उनीहरुले न्यू इण्डिया सर्कस भनेका थिए। उनीहरुले गाउँबाट गाई, बाख्रा र भाँडा बेचेर आएको सुनाउँदै छोरी फिर्ता लिएरमात्र फर्कने प्रतिज्ञा सुनाए।

तर त्यस्तो सर्कस भेटिएन। पछि सरकारी सहयोगमा हामीले सर्कस पत्ता लगायौँ। त्यो सर्कस उत्तर प्रदेशमा ‘न्यू रोमन सर्कस’ भइसकेको रहेछ। सर्कस ठूलो माफियाले चलाएका रहेछन्। उनले केटी बेच्ने, नक्कली औषधी बनाउने, सर्कसमा बच्चाहरुको प्रयोग गर्ने जस्तो काम गैह्रकानुनी काम गर्दो रहेछन्।

छोरी खोज्न पुगेकी नेपाली आमा विष्णुमाया र हामी सर्कसभित्र छिर्‍यौँ। मेरो छोरो पनि सँगै थियो। उ वकिल हो। केही नेपाली साथीहरु पनि थिए।

हामीलाई बाहिरबाट सर्कसका मानिसले भित्र लगे। गाली गरे, लात्तै लात्ताले हिर्काए। मेरो टाउकोमा बन्दुक ताके। म उभिएको ठाउँबाट तल हेरेँ। ती बुबा र आमा भुइँमा रोइरहेका थिए। मलाई लडेका बुबा देखेर राजा जनकको याद आयो।

तर त्यहीबेला टेलिभिजनको क्यामेरा आइपुग्यो। आजतक टेलिभिजनले खिचेपछि बल्ल त्यो मान्छेले मेरो टाउकोबाट बन्दुक हटायो। टेलिभिजनको क्यामेरामा ‘मार डालो’ भनेको त रेकर्ड नै भयो। त्यतिबेला म घाइते थिएँ। मेरो रगत र नेपाली बहिनीको रगत एकसाथ बग्यो। म बेहोस भएछु। होस आउँदा अस्पतामा थिएँ।

होस आएपछि मलाई सबैले सोधे- कस्तो छ ?
भनेँ, ‘जबसम्म मरिदैँन तबसम्म दुनियाँमा केही बिग्रदैँन।’ हामीले त्यहाँबाट एकजनालाई छुटाउन सफल भयौँ बाँकी सबै गायब पारिए।

भारतको न्यायपालिका गरिबको मामिलामा धेरै नै संवेदनशील छ। त्यो घटनामा लखनउ अदालतले सर्कसमा रहेका सबैलाई छुटाउन आदेश दियो।

हामी अस्पतालमा थियौँ। अनसनमा बसेका थियौँ। तर पछि विष्णुमाया आएर मलाई जुस दिएर अस्पतालबाट अनसन तोडाइन्।

उनले जुसको गिलास अगाडि बढाइन् र भनिन् ‘तपाईँ जुस पिउनुस्।’

उनले आँसु बगाँउदै भनेकी थिइन् – मर्नुभयो भने बेसाहारा बच्चाहरुलाई कसले बचाउँछ?’

हामीले ती विष्णुमायाको छोरीलाइ सर्कसबाट छुटाउँदा उनी पुरुष देख्दैमा घृणा गर्ने अवस्थामा थिइन्। उनी अदालतका न्यायधिशको अगाडिसमेत डराएर प्रस्तुत भइन्। उनको नाम हामी सार्वजनिक गर्दैनौ तर उनलाई हामीले भावना नाम दिएका छौँ।

एकदिन म हाँसी मजाक गर्दै थिएँ। साथीहरुसँग बालबालिकाका विषयमा कुराकानी हुँदै थियो। उनी सरासर आएर मलाई हिन्दीमै भनिन्, – कि तुम सम्झारहे हो की सबलोग स्कूल जाएँ?
क्या मे अभी बच्ची हूँ?

त्यतिबेला उ चौध पन्ध्र वर्ष की हुँदी हो। त्यतिबेला मैले भनेँ – बेटा तुम बच्ची हो। कुछ भी कर सकती हो।

तिनका पिता सानैमा बितेका थिए।

उसले लगत्तै आएर मेरो अङ्गालोमा बाँधिइन् र रुदैँ भनिन ‘तुम् मेरे पिता हो।’

त्यो पल मलाइ अझै याद छ।

अहिले दुनिँयामा १७ करोड बच्चा गुलामी गर्छन्। मजदुरी गर्छन्। बेश्यावृति जस्ता पेशामा लागेका छन्। उनीहरुको हातमा खेलौना र पुस्तक हुनुपर्नेमा बन्दुक छ।

त्यसैले बचपन बचाउन जरुरी छ। र मेरो चाहना भनेको बचपन बनाउनु पर्छ भन्ने हो।

आज हामी मंगल र चन्द्रमा पुगेको कुरा गर्छौ। हामी हाइ इन्टरनेट स्पिडको कुरा गर्छौ।

कार्ल मार्क्सले भनेका छन् – हामी जति उपयोगी चिज बनाउँछौँ त्यति मान्छे उपयोग बिहीन बन्छ।
आज जनावरभन्दा पनि सस्तो मूल्यमा मानिसको खरिद बिक्री हुनु कति दुखद् विषय हो। म एउटा देशको मात्र कुरा गर्दै छैन।

वुद्धले करुणाबाट इन्टरकनेक्टिभिटी मन्त्र दिएका छन्। यो वुद्धको भूमि हो।

दुनियाँ डिजिटल कनेक्ट भएको छ। बजार र ब्यापारमा सीमित हुन पुगेका छौँ।

करुणा रुने कुरा होइन। हामीले आफूले आफूलाई भित्रबाटै हेर्‍यौँ भने देख्छौँ। यदि तपाईँ कसैको गल्तीलाई माफी दिन सक्नुहुन्छ भने अरुको गल्तीलाई भुलाउन सक्नुहुन्छ भने तपाईँ भित्र बच्चा छ।

भित्रको बच्चा मर्न नदिनुस्। त्यो बच्चा मर्‍यो भने मान्छे नकक्ली हुन्छ। बच्चाको नजरबाट दुनियाँ हेर्नुस् कति राम्रो छ।

सानो बालकको बिहे गराउनु हिंसा हो। मजुदरीमा लगाउनु त झनै हिंसा।

हामीले अहिलेदेखि नै बालबालिकासँग बराबरीको सम्बन्ध राख्नुपर्छ। तपाईँ यहाँ सभासद्हरु हुनुहुन्छ। तपाईँहरु कस्तो दुनियाँ भावी पुस्तालाई छाड्दै हुनुहुन्छ? भोलि बाँके, नेपालगञ्जका बालबालिकाले प्रश्न गर्नेछन्।

त्यसैले यो संविधानसभाबाट तपाईँ नयाँ पिढीले गर्व गर्ने संविधान लेख्नुस्। त्यो सम्भव छ।
मैले युएन अन्तर्गतको ‘जिपिए’ कार्यक्रममा हुँदा नेपालमा बजेटका लागि सहयोग गरेको छु। मैले नेपाली प्रतिनिधि मण्डलमा रहेका मन्त्रीहरुसँग कुराकानी गरेर उत्कृष्ट प्रस्ताव तयार गरेर बजेटका लागि सहयोग गरेको छु।

मलाई मानिसहरु भन्थे, ‘तपाईँ नेपाल सरकारको प्रतिनिधिको रुपमा काम गरिरहनु भएको छ।’

अहिले विश्वमा हातहतियार र सैन्य प्रयोजनमा एक ट्रिलियन डलर बजेट खर्च भइरहेको छ। त्यो रकम शिक्षामा खर्च गर्नुपर्छ।

युरोपियन मुलुकका महिलाहरुले महिनामा ६ दिन कस्मेटिक सामान प्रयोग नगर्ने हो भने दुनियाँभरका बच्चाले पढ्न पुग्ने पैसा हुन्छ।

हामी गरीब हैनौं। हामी राजनीतिक व्यवस्थामा गरीब भएका हौं। दिलमा गरीब छैनौँ।

तपाईँहरु संविधान बनाउँदै हुनुहुन्छ। संविधान आधार हो। २०१५ मा बन्न लागेको संविधान दुनियाँको सिकाइबाट बनाउनुहोस्। बच्चा अधिकारको हिफाजतको संवैधानिक ब्यवस्था परिलक्षित होस्।

मेरो प्रस्ताव छ। विश्वभरका सांसदको ग्लोबल पार्लिमेन्टेरियन फोरम फर चिल्ड्रेन बनाउने। मैले तपाईँहरुको संविधानसभाको अध्यक्षसँग पनि कुरा गरेका छु। त्यसमा पहिला दक्षिण एसियाले नेतृत्व गर्नुपर्छ।

मेरो ठूलो छोरो जस्तो रहेको सभासद् डिल्ली चौधरीले नेपालमा काम गर्न प्रस्ताव गरेका छन्। मैले युरोपियन मुलुकका सासंदहरुसँग कुराकानी गरेको छु।

एकपटक वुद्धका दुई शिष्यबीच झगडा भएछ। एउटा जन्मजात दृष्टिबिहीन र अर्को पढेलेखेको।
पढेलेखेको शिष्यले एकदिन सेतो सफा कमिज लगाएछ र दृष्टिबिहीन साथीलाइ भनेछ- यो मेरो कमिज सेतो सफा छ।

दृष्टिबिहीनले सोधेछ – कस्तो सफा?
तब पढेलेखाले सेतोबारे दृष्टिबिहीनलाइ ज्ञान दिने मन बनाएछ।

तब, पढेलेखाले भनेछ ‍- दूधजस्तै सेतो। फेरि दृष्टिबिहीनले भनेछ, ‘दूध त छुँदा हातमा लाग्छ र चिसो हुन्छ तर कमिज लाग्दैन।’
फेरि पढेलेखाले भनेछ – ‘हाँस जस्तै सेतो।’

अनि दृष्टिबिहीनले भनेछ – ‘हाँस त उड्छ तर तिम्रो कमिज त उड्दैन। यो त तिमीले लगाइराखेको छौ।’

बुझाउन अफ्ठेरो भएपछि पढेलेखाले दृष्टिबिहीनलाई उठाएर ढोका छाम्न लगाएछ र भनेछ – यस्तै छ। अनि दृष्टिबिहीनले भनेछ – यो त हातमा आउँदैन तर कमिज त हातमा आउँछ।

विवाद कै रुप लिएपछि दुवै वुद्धकहाँ पुगेछन्। पढेलेखाले आफूले सेतोबारे ज्ञान दिन नसकेको बताएछन्। वुद्धले शान्त स्वरमा पढेलेखालाई भनेछन् – ज्ञान त तिमीलाई जरुरी छ।

हेर उपदेशले एउटा सीमासम्म काम गर्छ तर त्यसपछि उपचार आवश्यक हुन्छ। उसलाई तिमीले धेरै उपदेश दियौ। उपचार गर उसले सजिलै बुझ्छ।

अहिले तपाईँहरुले पनि संविधान दिएर, काम गरेर उपचार दिनुहोस्।
यो समय सहि समय हो । हामी भोलि पर्खन सक्दैनौं।

(नोबल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीले संविधानसभा भवन भित्र ल्होत्से हलमा सभासद्हरुलाई दिएको मन्तब्यको भावानुवाद। कार्यक्रमा सय भन्दा धेरै सभासद् उपस्थित थिए।)

By मनोज सत्याल

Journalist

Leave a comment

Your email address will not be published.